२०८३ असार २६ गते, शुक्रबार ००:२६

प्रसारणका विषयवस्तु जनता केन्द्रित बनाउनुपर्नेमा  कार्यकारी अध्यक्ष डा.बिष्टको जोड्

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्टले जनता केन्द्रित विषयवस्तुको प्रसारणलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

रेडियो नेपालमा क्रियाशील विभिन्न संघ–सङ्गठनले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा कार्यकारी अध्यक्ष डा. बिष्टले सार्वजनिक सेवा प्रसारण नेपाल–पिएसविको सङ्क्रमणकालीन अवस्थालाई छोट्ट्याउनका लागि सबैले प्रभावकारी रुपमा जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।

उहाँले संस्थाको हितसँगै कर्मचारीका सेवा सुविधालगायतका विषयमा छलफल गर्दै अगाडि बढ्ने र त्यसक्रममा आइपरेका जटिलताहरूलाई सबै संघ–सङ्गठनको सहयोगमा फुकाउँदै जाने पनि बताउनुभयो ।

कार्यकारी अध्यक्ष डा. बिष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनबिच रहेका पेन्सन, उपदानलगायतका सेवा सुविधाका विषयमा कसैप्रति आग्रह पूर्वाग्रह नराखी सहभावका आधारमा छलफलका माध्यमबाट छिटो समाधान गरेर अगाडी बढ्ने बताउनुभयो ।

रेडियो नेपालमा क्रियाशील विभिन्न संघ सङ्गठनका प्रतिनिधिहरू चेतनारायण पौडेल, विप्रमणि आचार्य, महेश घिमिरे, दुर्गा फुयाँल, राजेश श्रेष्ठ, तिलकजंग बुढाथोकीलगायतले कर्मचारी समायोजन, कर्मचारीको हक हित, करारमा रहेका कर्मचारीको व्यवस्थापन, सेवा निवृत्त कर्मचारीको पेन्सनलगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो । 

उहाँहरूले संस्थाको इतिहासलाई कायम राख्दै नागरिक केन्द्रित विषयवस्तु उत्पादन र प्रसारण, संस्था र कर्मचारीको हक हितमा अगाडी बढ्ने विषयमा अध्यक्षलाई सबै सङ्घ-सङ्गठनको पूर्ण रुपमा साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तस्वीर: मिलन ढुङ्गाना

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM