वीरगंज/ लायन्स क्लबले एक विद्यालयका छात्राहरूलाई आत्मरक्षा तालिम प्रदान गरेको छ।
लायन्स क्लब अफ वीरगंजले नेपाल कराँते संघ पर्साको सहयोगमा वीरगंज-१६ नगवा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आत्मरक्षा तालिम संचालन गरिएको क्लबका अध्यक्ष सुनिल कुमार गुप्ताले बताउनु भयो।
सात दिनसम्म चल्ने सो तालिमको उद्घाटन क्लबका अध्यक्ष सुनिल गुप्ताको सभापतित्वमा सम्पन्न भएको हो।
विद्यालयका प्रधानाध्यापक श्री राम नारायण मिश्रको प्रमुख अतिथ्यमा संचालित उद्घाटन शत्रमा लायन विजय कुमार गुप्ता, लायन विनित जायसवाल, लायन गोविंद प्रसाद कानु, नेपाल कराँते संघ पर्साका अध्यक्ष राजु साह, उपाध्यक्ष राजु श्रेष्ठ, सचिव विश्वराज पटेल, दिलिप पटेल तथा प्रशिक्षकहरू हेमा मगर, वर्षा पोखरेल लगायत, लियो क्लबका कुनाल गुप्ताको उपस्थिति रहेको थियो।
सो विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत १०० जना भन्दा बढ़ी छात्राहरुले लिने आत्मरक्षा प्रशिक्षणको उद्घाटन सत्रका वक्ताहरूले आजको युगमा महिला पुरुष बराबर भएको र हरेक क्षेत्रमा पुरुष जस्तै महिलाहरू पनि प्रतिष्पर्धामा अब्बल आईरहेको हुँदा छात्राहरूले कहिल्यै पनि आफूलाई कमजोर ठान्न नहुने बताएका थिए। आफूमाथि आइपर्ने जस्तो सुकै परिस्थितिसँग डटेर सामना गर्न र आत्मबल बलियो बनाएर अघि बढ़नु पर्नेमा समेत वक्ताहरूले जोड़ दिनु भएको थियो।
सो कार्यक्रममा लायन गोविन्द प्रसाद कानुले उद्घोषण गर्नु भएको थियो।