काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को गठन जटिल प्रकृतिका अपराध अनुसन्धान गर्नका लागि भएको थियो । रमेश चन्द ठकुरी आईजीपी हुँदा २०६७ मा स्थापना भएको सीआईबीले अन्तर्राष्ट्रिय कल चोरी (भीओआईपी)को गिरोह नै ध्वस्त पारी टेलिकम र एनसेलको अरबौं रकम जोगाउने काम गर्यो ।
नेपाल फेसका अनुसार ठूला ठूला अपराध गरी पत्ता लाग्न नसकेका फरार अपराधीलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा आर्थिक हिसाबले लाभ हुने खालका सानातिना केसमा सीआईबी रुमल्लिन पुगेको छ । सीआईबीबाट सहकारीको अरबौं रकम अपचलन गर्नेहरुबिरुद्ध छानबिन हुन सकेको छैन । किरण बज्राचार्य सीआईबीको प्रमुख भएपछि त सीआईबी झन् बदनाम हुन पुग्यो । ६० किलो सुन तस्करीमा मुछिएका जीवन चलाउनेलाई पक्राउ गरेर छाडिनु र वाल्डो क्यासिनोका संचालक चिनियाँ नागरिक टेरेन्स टीएचसीलाई भगाएपछि सीआईबीको अनुसन्धानमै प्रश्न उठ्यो ।
सुनप्रकरणमा बज्राचार्य विवादमा परेपछि श्यामलाल ज्ञवाली सीआईबीको प्रमुखका रुपमा आए । उनले पनि सीआईबीलाई उद्देश्यअनुरुप हाँक्न नसकेको आरोप लागेको छ । ज्ञवालीले बाल मन्दिरको जग्गा लिज प्रकरणमा क्षेत्राधिकार नाघेर २० जनाबिरुद्ध पक्राउ पूर्जी जारी गरेको होहल्ला गरे पनि एक जना पनि नियन्त्रणमा लिन सकेका छैनन् । यसअघि नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई बासबारीको सरकारी जग्गा गैरकानुनी रुपमा कब्जा गरेको बिषयमा पक्राउ गर्नका लागि सीआईबीबाट सभामुखलाई पत्र लेखियो । तर उनलाई पक्राउ गर्न सीआईबीले सकेन । संघीय संसदमा चौधरी पक्राउ गर्न पत्र लेखेर एआईजी ज्ञवाली अर्को विवादमा परे ।
चौधरी पक्राउ गर्न नसकेका ज्ञवाली बालमन्दिरको जग्गा लिज प्रकरणमा फसेका छन् । पहिले नै पक्राउ पूर्जी ल्याएको समाचार सार्वजनिक गरेर सीआईबीले अर्को हास्यास्पद काम गरेको छ । बालमन्दिरको जग्गा अनियमितता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने हो, सीआईबीले होइन । बाल संगठनले बालमन्दिरको जग्गा लिजमा दिएको हो, बिक्री गरेको वा निर्णय गरेर दिएको होइन । लिजमा दिंदा अनियमितता गरेको हो, कीर्ते, ठगी वा जालसाजी होइन ।
जग्गा भाडामा दिंदा प्रचलित नियम कानुन पूरा नगरी अनियमितता गरेको भए त्यो हेर्ने निकाय अख्तियार छ । बचतकर्ताले सहकारीमा जम्मा गरेको अरबौं बचत ठगी गर्नेहरुका बिरुद्ध सीआईबीले केही गर्न सकेको छैन । तर लिजमा दिएको जग्गाको बिषयमा पक्राउ पूर्जी जारी गरेर सीआईबी विवादमा परेको छ ।
बालमन्दिरको जग्गा लिज प्रकरणमा सीआईबीले पक्राउ पूर्जी ल्याई नियन्त्रणमा लिनुपर्नेमा लिन कुनै चासो देखाएको छैन । पक्राउ पुर्जी जारी भएकामध्ये केहीको त मृत्यु भइसकेको छ । मृत्यु भएकाहरुको नाममा पनि पूर्जी जारी कसरी भयो भन्ने प्रश्न उठेको छ । पक्राउ पूर्जी जारी भएकाहरुलाई नियन्त्रणमा लिइएकोबारेमा सीआईबीका कोही पनि बोल्न चाहँदैनन् । अनौपचारिक रुपमा भने उनीहरु भागिसके भन्ने गर्दछन् ।
बालमन्दिरको बिषयमा हात हाल्नुको मुख्य उद्देश्य सीआईबीका केही अधिकृतको बृहस्पति स्कुलका संचालक मारवाडीहरुलाई तर्साउने र असुल्ने रहेको स्रोत बताउँछ । बृहस्पति स्कुलका मात्र होइन, बिशाल ग्रुपकै संचालकहरुलाई समेत तर्साउनका लागि बालमन्दिरको जग्गाको बिषय उछालिएको छ ।
सीआईबीका एसपी होविन्द्र बोगटीले बालमन्दिर जग्गा प्रकरणमा एआईजी ज्ञवालीलाई विवादमा तानेका छन् । एसपी बोगटीले बालमन्दिर जग्गा लिज प्रकरणमा बृहस्पति विद्यासदनका श्रद्धा संघाई, सिद्धार्थ केडिया, अभिनव सिरोहियादेखि बिशाल ग्रुपका संचालकहरुसँग दिनदिनै भेट्ने र मोलतोल गर्ने गरेको आरोप छ । श्रद्धा संघाई, सिद्धार्थ केडिया र अभिनव सिरोहियाका बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । एकातिर मिडियामा बदनाम गराउने र अर्र्कोतिर मारवाडीसँग बार्गेनिङमा उनी तल्लीन रहेको सूचना अख्तियार दुरुपयोग अनुसन्धानमा पनि पुगेको छ । मारवाडी तर्साएकोबारेमा अख्तियारमा सूचना पुगेपछि बालमन्दिर प्रकरणमा सीआईबीका अधिकारीको निगरानी गरिरहेको आयोगका एक उच्च अधिकारीले बताए ।
त्यसो त बोगटी जहाँ हुँदा पनि विवादमा परेका अधिकृत हुन् । यसअघि किरण बज्राचार्य सीआईबीको प्रमुख हुँदा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गराउने भूमिका पनि बोगटीकै रहेको स्रोत बताउँछ । गोरखा घर भएकाले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको निकै निकट भएका थिए बोगटी । त्यही सम्बन्धका आधारमा बज्राचार्यलाई समेत प्रभावमा पारी उनले न्यौपानेलाई पक्राउ गरेका थिए ।
प्रभु बैंकका सीईओ अशोक शेरचनको डिजाइनमा बोगटीले न्यौपानेलाई पक्राउ गरेपछि बैंकर्स एशोसिएसन नै बिरोधमा उत्रिएको थियो । राष्ट्रबैंकले समेत बैंकर्सलाई पक्राउ गर्ने सीआईबीको कार्यप्रति असन्तुष्टि जनाएको थियो । जीवन चलाउनेलाई पक्राउ गरी छाड्नमा पनि बोगटी पनि उत्तिकै संलग्न रहेको स्रोत बताउँछ ।
यसैबीच, भारतीय दूताबाससँग निकै राम्रो सम्बन्ध भएका राई स्कुलका संचालक कीर्ति पाण्डे प्रहरीका उच्च अधिकारीसँग सुमधुर सम्बन्ध रहे पनि पक्राउ पूर्जी जारी भएपछि उनी आत्तिएका छन् । पाण्डेले कतिपय प्रहरी अधिकृतका छोराछोरीलाई राई स्कुलमा निःशुल्क र भारतीय दूताबासमा रहेको केन्द्रीय विद्यालयमा पढाउने भूमिका खेल्दैआएका छन् ।
















