२०८३ असार ६ गते, शनिबार २०:४८

नवरात्रको सातौँ दिन: कालरात्री देवीको पूजा गरिँदै

काठमाडौं। बडा दशैंको सातौं दिन आज भगवती दुर्गाको सातौं स्वरुप कालरात्रीको पूजाआराधना गरिन्छ। कालरात्रीलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ।

पौराणिक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्री अवतार धारण गरेकी थिइन् । सप्तमीको विहानै आफ्नो नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ।

करालवंदना धोरां मुक्तकेशी चतुर्भुजाम् ।

कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।।

शास्त्रानुसार कालरात्रीको स्वरुप कालो र भयभीत गर्नेवाला रहेको छ। कपाललाई फिँजाइएको छ भने उनको चार हात रहेका छन् । विद्युत्को माला लागाएकी यस्ती कालरात्रीको काल पनि डराउने स्वरुप रहेको छ।

चार हातमध्ये एक हातमा तरवार, एकमा काटिएको शिर र अर्को हालमा काटिएको शिरबाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरुप देवी कालरात्रीको रहेको छ ।

देवीको जति डरलाग्दो स्वरुप छ त्यति नै शुभ फल पनि दिने भएकाले कालरात्रीलाई शुभांकरी पनि भनिन्छ। कालरात्रीको उपासनाले मनभित्र र बाहिरका हरेक डर त्रासहरू समाप्त हुने विश्वास गरिन्छ। ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपसना गर्ने विधि रहेको छ ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

 

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ। आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ। उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली, पर्साको वीरगंज, बिर्तामाई, बिन्दवासिनी, बाराको गढ़ीमाई, रौतहटको राजदेवीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ। यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैंघर तथा शक्तिपीठहरूमा चल्ने गर्दछ। यो समयमा देवीभागवत महापुराण तथा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ। पूजा कोठा वा दशैं घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM