२०८३ असार ५ गते, शुक्रबार २३:५०

पर्सामा सशस्त्र प्रहरीका ‘घुमुवा’माथि तस्करी सेटिङको आरोप, नियन्त्रण कमजोर भएको गुनासो

वीरगंज । सीमावर्ती जिल्ला पर्सामा सशस्त्र प्रहरीभित्रकै केही ‘घुमुवा’को गतिविधिले तस्करी मौलाएको भन्दै गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। सुशासनको नारा बोकेको बालेन नेतृत्वको सरकारका गृह मन्त्री सुधन गुरुङबाट तहबाट तस्करी नियन्त्रणका लागि कडाइ गर्ने निर्देशन आए पनि व्यवहारमा त्यसको प्रभाव कमजोर देखिएको भन्दै स्थानीय स्तरमा प्रश्न उठ्न थालेको छ।

स्रोतहरूका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा, पर्सा तथा मातहतका विभिन्न गुल्म र बिओपीहरूबाट खटिएका केही प्रहरी कर्मचारीहरू लामो समयदेखि एउटै क्षेत्रमा बसेर सीमावर्ती नाकाहरू हुँदै हुने अवैध कारोबारमा संलग्न तस्करहरूसँग नियमित सम्पर्कमा रहेको दाबी गरिएको छ। ती घुमुवाहरूले तस्करीलाई सहज बनाउने गरी समन्वय गर्ने गरेको आरोप समेत लगाइएको छ।

सशस्त्र प्रहरी निकट स्रोतहरूको दाबीअनुसार नं. १३ गणमै कार्यरत सशस्त्र प्रहरी हवलदार जय मङ्गल गुप्ता, राजा बाबु साह र ऋषिकान्त शाहको नाम यस सन्दर्भमा बारम्बार उठ्ने गरेको छ। यस्तै, प्रहरी निरीक्षक प्रकाश मल्ल (जसको दरबन्दी अन्यत्र रहेको बताइन्छ) पर्सामै काज मिलाएर बसेका र तस्करहरूसँग उठबस गर्ने गरेको आरोप स्रोतले लगाएको छ।

त्यसैगरी सीमा सुरक्षा गुल्म, वीरगंज भन्सार क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी हवलदार जनक भट्ट र सहायक हवल्दार पशुपति दुबे पनि ‘घुमुवा’को रूपमा सक्रिय रहेको चर्चा छ। जनक भट्ट पटक–पटक दरबन्दी र काज मिलाएर पर्सामै आउने गरेको सशस्त्र प्रहरीभित्र चर्चा चलेपनि यस्तो गतिविधि निरन्तर हुँदै आएको स्रोतको भनाइ छ।

सीमा सुरक्षा गुल्म अलौ क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी हवल्दार हर्कबहादुर थापामाथि समेत उक्त क्षेत्रबाट हुने अवैध ओसारपसारमा सेटिंग मिलाउने गरेको आरोप लागेको छ।

यसैबीच, नं. १३ गण हेक्वा पर्सामा आर्थिक प्रशासन शाखामा रहेका सशस्त्र प्रहरी हवल्दार दीप लामाको नाम पनि लामो समयदेखि पर्सामै बस्दै आएको र विभिन्न प्रशासनिक कार्यसँग जोडिएका गतिविधिबाट अतिरिक्त आम्दानी गर्ने गरेको चर्चा चलिरहेको छ। उनी झन्डै एक दशकभन्दा बढी समयदेखि पर्सामै सक्रिय रहेको बताइन्छ।

भारतसँग सीमा जोडिएको यस क्षेत्रमा सर्वसाधारणले दैनिक उपभोग्य सामग्री किनमेलका लागि सीमापार गर्ने क्रममा कडाइ भोग्नुपरेको गुनासो गरेका छन्। स्थानीयका अनुसार सामान्य घरायसी प्रयोजनका सामान ल्याउँदा समेत सीमा नाकामा खटिएका सुरक्षाकर्मीले कडा जाँच गर्ने र कतिपय अवस्थामा सामान नियन्त्रणमा लिने गरेका छन्। तर त्यसको विपरीत सीमावर्ती नाकाबाट कपडा, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स लगायतका वस्तुहरू अवैध रूपमा भित्रिने क्रम भने रोकिएको देखिँदैन।

स्थानीय बासिन्दाहरूका अनुसार दिउँसो सर्वसाधारणमाथि कडाइ गरिए पनि रातको समयमा तस्करहरूलाई सहजता उपलब्ध गराइने गरेको आरोप छ। विशेषगरी मध्यराति २ बजेदेखि बिहान ४ बजेसम्म अवैध ओसारपसार हुने गरेको दाबी स्रोतहरूले गरेका छन्।

यसले राज्यको राजस्व प्रणालीमा प्रत्यक्ष असर पार्नुका साथै वैधानिक रूपमा कर तिरेर व्यापार गर्ने व्यवसायीहरूलाई प्रतिस्पर्धामा कमजोर बनाइरहेको छ।

सरकारले तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेको दाबी गर्दै आएको भए पनि पर्सामा देखिएको पछिल्लो अवस्थाले कार्यान्वयनमै कमजोरी रहेको संकेत गरेको छ। एउटै व्यक्तिहरू लामो समयसम्म एउटै क्षेत्रमा रहिरहने, पटक–पटक काज मिलाएर फर्किने र सीमावर्ती तस्करहरूसँग सम्बन्ध गाँसिने आरोपहरूले सुशासन र सुरक्षा निकायको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

नं. १३ गण पर्सा तथा मातहतका संरचनाबाट हुने भनिएका यस्ता गतिविधिबारे गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्री जानकार छन् वा बेखबर-वा मौन स्वीकृतिको अवस्थामा छन् भन्ने विषय समेत अहिले चासोको केन्द्र बनेको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा सशस्त्र प्रहरी बल नेपाल का सम्बन्धित अधिकारीसँग सम्पर्क हुन सकेन। आरोपबारे आधिकारिक धारणा आउन बाँकी रहेको छ।

यस विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिए कडा कारबाही गर्न सरोकारवाला पक्षहरूले माग गरेका छन्। अन्यथा तस्करी नियन्त्रणका सरकारी प्रतिबद्धता नारामै सीमित हुने खतरा रहेको टिप्पणी जानकारहरूको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM