२०८३ असार ५ गते, शुक्रबार १९:१२

यस्ता छन्, आजको मन्त्रीपरिषद बैठकका निर्णयहरू

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

धितोपत्र बजारको नियमन, सुपरिवेक्षण तथा विकासको जिम्मेवारी बोकेको नेपाल धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको थियो। नयाँ अध्यक्ष नियुक्तिसँगै बोर्डको नीतिगत तथा नियामकीय कार्यसम्पादनले गति लिने अपेक्षा गरिएको छ।

नवनियुक्त अध्यक्ष डा. भट्टले पूँजी बजारको पारदर्शिता, लगानीकर्ता संरक्षण तथा धितोपत्र बजारको संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।

यी हुन् बैठकको निर्णय-

१. नेपाल विशेष सेवा ऐन २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने।

२. नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट (कैलाली) लाई नियुक्त गर्ने।

३. सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।

४. बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।

५. राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।

६. संघीय संसद समक्ष देहायका प्रतिस्थापन विधेयकहरु पेश गर्न स्वीकृति प्रदान गर्नेः

क) सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक

ख) सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक

ग) सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक

घ) स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM