२०८३ असार ५ गते, शुक्रबार २१:१७

लाजिम्पाटबाट २२ लाख नगदसहित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई पक्राउ

काठमाडौं/काठमाडौंको लाजिम्पाटस्थित एक बारबाट स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित क्रिप्टोकरेन्सी (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार विशेष सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले बिहीबार राति करिब ८ बजे काठमाडौं महानगरपालिका-२, लाजिम्पाटस्थित एक बारमा छापा मारेको थियो।

प्रहरीले नुवाकोटको म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ बस्दै आएका ४७ वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१६ बस्दै आएका ५० वर्षीय होमबहादुर केसीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार विश्वकर्माले साथमा बोकेको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा स्रोत खुल्न नसकेको नेपाली नगद २२ लाख रुपैयाँ, ४० अमेरिकी डलर तथा रकम उल्लेख नगरिएका तर हस्ताक्षर गरिएका चार थान चेक बरामद गरिएको छ।

अनुसन्धानका क्रममा विश्वकर्माले प्रयोग गर्दै आएको मोबाइल फोनमा रहेको Binance एपमार्फत करिब २ हजार USDT बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको विवरण समेत फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अभौतिक मुद्रासम्बन्धी कारोबार, बरामद नगदको स्रोत तथा त्यससँग जोडिएका अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM