झापा/सादा पोशाकमा घुमुवाको रुपमा खटिएका सशस्त्र प्रहरीका निरीक्षकले सशस्त्र प्रहरीकै हवल्दार तथा जवानलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
झापाको सीमावर्ती क्षेत्र नकलबन्दामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई सशस्त्र प्रहरीको बराह बाहिनी पकलीबाट घुमुवाको रुपमा खटिएका प्रहरी निरीक्षक नभप्रभात राईले पानीमा डुबाउँदै भाटैभाटाले हानेको घटना सार्वजनिक भएको हो ।
प्रहरी निरीक्षक राईको नेतृत्वमा तीन जना खटिएका थिए । राईले ड्युटीमा खटिएका हवल्दार तथा जवानलाई निर्घात कुटपिट गर्न थालेपछि स्थानीयबासी भेला भएका थिए।
कुटपिट गर्ने सादा पोशाकमा रहेका कारण सशस्त्र प्रहरीकै निरीक्षकले नै निर्घात कुटपिट गरेको भन्ने स्थानीयबासी पत्ता पाएका थिएनन्। मंगलबार साँझ भएको उक्त घटनापश्चात केही बेर नकलबन्दा क्षेत्र तनावग्रस्त बनेको थियो।
ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई कुटपिट गर्ने निरीक्षक राई तथा उनको टोलीलाई कारबाहीको माग गर्दै स्थानीयबासीले नाराबाजीसमेत गरेका थिए।
कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन्।
घाइते सबैको मेचीनगरको मेची आम्दा अस्पतालमा उपचार भइरहेको बताइएको छ। सशस्त्र प्रहरीको २ नम्बर गण झापाका प्रमुख प्रहरी उपरीक्षक देवराज अर्यालले कुटपिटमा संलग्नलाई कारबाही गर्ने आश्वासन दिएपछि स्थानीयबासी साम्य भएका थिए।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले केही ‘मिसअन्डरस्ट्यान्डिङ’का मंगलबार उक्त घटना भएको बताए। सादा पोशाकमा रहेका सशस्त्र प्रहरीलाई स्थानीयबासीले नचिनेका कारण पनि नकलबन्दा तनावग्रस्त बनेको उनले बताए ।
पोखरेलले भने, ‘जे नहुनुपर्थ्यो त्यो भयो । अरु कुरा सशस्त्र प्रहरीको चेन अफ कमाण्डले हेर्छ ।’
बराह बाहिनी पकलीका प्रमुख प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले आफूले यो विषयलाई गम्भीर रुपमा लिएको र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
पोखरेलले भने, ‘बदमासी भएको छ । बदमासी गर्नेले कारबाही भोग्छ ।’ उमाकान्त खनाल, देशसंचार