२०८३ जेष्ठ ४ गते, सोमबार १८:२०

झा रिहा भएको खबर फैलाउने परराष्ट्र मन्त्रालयले माफी माग्यो

काठमाडाैं। परराष्ट्र मन्त्रालय र परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयबाट सम्प्रेषित एउटा गम्भीर कूटनीतिक सूचना त्रुटिपूर्ण प्रमाणित भएपछि मन्त्रालयले औपचारिक रूपमा क्षमा मागेको छ।

केही दिनअघि इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भइसकेको भन्दै मन्त्रालयले विवरण सार्वजनिक गरेको थियो। तर, वस्तुस्थिति बुझ्दा झा अझै पनि इरानकै नियन्त्रण र थुनामा रहेको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको हो।

मन्त्रालयद्वारा जारी कूटनीतिक विज्ञप्तिमा इरानको स्थानीय अदालतमा झाको मुद्दा अझै पनि विचाराधीन रहेको र उनी थुनामै रहेको अवस्थामा निज रिहा भइसकेको भन्ने अनौपचारिक तथा अपुष्ट जानकारी सार्वजनिक हुन गएको उल्लेख गरिएको छ।

यस गलत सूचनाका कारण पीडित परिवार, सञ्चारमाध्यम र आमसर्वसाधारणमा सिर्जना भएको अन्योल, भ्रम र असुविधाप्रति मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै क्षमा प्रार्थी रहेको जनाएको छ।

नेपाली युवा झा इरानको रणनीतिक क्षेत्र केशम टापुमा अवैध सामान तस्करी गरेको अभियोगमा त्यहाँका सुरक्षा निकायबाट पक्राउ परेका थिए। उनी हाल इरानको बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन्।

गलत सूचना सार्वजनिक भएर विवाद बढेपछि परराष्ट्र मन्त्रालयले झाका परिवारका सदस्यहरूलाई मन्त्रालयमै आमन्त्रण गरेर उनको वास्तविक कानुनी स्थिति र पछिल्लो वस्तुस्थितिबारे स्पष्ट पारेको छ।

साथै, झाको निष्पक्ष कानुनी सुनुवाइ सुनिश्चित गर्न र उनलाई सुरक्षित रूपमा नेपाल फर्काउन तेहरानस्थित नेपाली दूतावास र अन्य कूटनीतिक संयन्त्रहरू पूर्ण रूपमा परिचालन गरिएको मन्त्रालयले दाबी गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM