काठमाडाैं। सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) को महिला बन्दीगृहबाट शुक्रबार नाटकीय रूपमा फरार भएकी कैदी सपना तामाङलाई प्रहरीले आइतबार राति पुनः पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई असनस्थित उनका प्रेमीको कोठामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो।
नुवाकोटको विदुर नगरपालिका-१३ स्थायी घर भएकी २५ वर्षीया सपना अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेकी थिइन्।
अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार सपनाको जेलभित्रै रहँदा भोजपुर घर भई असनमा डेरा गरी बस्ने समीर श्रेष्ठसँग प्रेम सम्बन्ध गाँसिएको थियो।
समीरकी आमा पनि सोही कारागारमा सजाय भुक्तान गरिरहेकी हुनाले आमालाई भेट्न निरन्तर जेल जाने क्रममा समीर र सपनाबीच चिनजान भई प्रेम झाँगिएको प्रहरीको भनाइ छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेमी समीरकै योजना, सहयोग र उक्साहटमा सपना कारागारको सुरक्षा घेरा तोडेर भाग्न सफल भएको खुलेको छ। कारागार प्रशासनलाई चकित पार्दै फरार भएलगत्तै उनीहरू दुवै जना ‘रमाइलो गर्ने’ योजनासहित असनस्थित समीरकै डेरामा पुगेर बसेका थिए।
केन्द्रीय कारागारका प्रशासक (जेलर) कृष्ण चापागाईंले पक्राउ परेकी फरार कैदी सपना तामाङलाई सोमबार पुनः कारागार फिर्ता ल्याएर सुरक्षित रूपमा राखिएको जानकारी दिएका छन्।
कैद भुक्तान गरिरहेकी बन्दीलाई जेलबाट भगाउन मतियारोको भूमिका खेल्ने उनका प्रेमी समीर श्रेष्ठलाई पनि नियन्त्रणमा लिई प्रहरीले थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ। अब सपनाले फरार भएबापत थप कानुनी सजायको समेत सामना गर्नुपर्नेछ।















