काठमाडौँ/नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुवँरले महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गरेको सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिका, २०८० प्रति असन्तुष्टि जनाएका छन्।
आइतबार महान्यायाधिवक्ता कार्यालयले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले पीडकको मागदाबीलाई धेरै स्थान दिँदा अनुसन्धान गर्ने निकाय र पीडित पक्ष झनै अन्यायमा पर्ने बताए।
उनले जारी भएको निर्देशिकामा भएको व्यवस्थाले पीडित झनै पीडित हुने अवस्था आउने बताए। उनले कानुनबमोजिम सजाय पाइ कैद भुक्तान गरिसकेको पट्के अपराधीलाई पनि यो सुविधा दिन सकिने व्यवस्थाले केही चुनौती थपिनसक्ने बताए।
उनले यो निर्देशिका उचित हो वा होइन भन्नेबारेमा बहस हुन जरुरी रहेको बताए। उनले कसुरदारलाई सजाय छुटको दाबी लिएमा पीडितलगायत सोप्रति असहमत हुने पक्षले अन्य निकायमा उजुरीसमेत गरेमा अनुसन्धान अधिकृत विवादमा आउनसक्ने अवस्था सिर्जना हुने बताए।