२०८३ असार ३ गते, बुधबार १९:०२

गोदावरी कुण्डको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ ले गोदावरी कुण्ड क्षेत्रको संरक्षण, व्यवस्थापन र धार्मिक पर्यटनको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

गोदावरी कुण्ड मन्दिर परिसरको स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गोदावरी क्षेत्रलाई थप व्यवस्थित र आकर्षक गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले गोदावरी कुण्ड केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सम्पदा र पर्यटन सम्भावनाले भरिपूर्ण क्षेत्र भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।

“गोदावरी कुण्ड हाम्रो सभ्यता, संस्कृति र धार्मिक परम्परासँग जोडिएको महत्वपूर्ण सम्पदा हो। यसको संरक्षण गर्नु राज्यको दायित्व मात्र होइन, हाम्रो पुस्ताले आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी पनि हो,” मुख्यमन्त्री बानियाँले भने, “प्रदेश सरकारले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने योजनालाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।”

निरीक्षणका क्रममा बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल ले पनि गोदावरी क्षेत्रको समग्र विकासका लागि आवश्यक समन्वय र सहकार्यमा मन्त्रालय सकारात्मक रहेको बताए।

स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँ र मन्त्री पौडेलले मन्दिर परिसरको वर्तमान अवस्था, संरक्षणका आवश्यकता, पूर्वाधार व्यवस्थापन तथा धार्मिक पर्यटकलाई लक्षित सेवासुविधाका विषयमा सरोकारवालासँग जानकारी लिएका थिए। उनीहरूले क्षेत्रको सौन्दर्यीकरण, सरसफाइ व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए।

स्थानीयवासी तथा मन्दिर व्यवस्थापनसँग आबद्ध व्यक्तिहरूले गोदावरी कुण्ड क्षेत्रको संरक्षण, व्यवस्थापन र विकासका लागि प्रदेश सरकारबाट थप सहयोगको अपेक्षा रहेको बताएका थिए। निरीक्षणपछि प्रदेश सरकारका तर्फबाट आवश्यक अध्ययन गरी क्षेत्रको दीर्घकालीन विकासका लागि पहल गरिने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM