२०८३ असार ३ गते, बुधबार १०:२२

सामाजिक सञ्जालमा खुकुरी देखाउँदै युवतीलाई कुटपिट गरेको भिडियो पोष्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

दाङ/एक युवतीलाई जंगल क्षेत्रमा लगी खुकुरी देखाएर डरत्रासमा पारी कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले आइतबार उनकै घरबाट पक्राउ गरेको हो। पक्राउका क्रममा प्रहरीले उनको साथबाट प्रेगामैक्स १ ट्याब्लेट, ट्रोमो ४१ ट्याब्लेट, अन्टिकोप २ ट्याब्लेट र नित्राजोम ५ ट्याब्लेट बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार रमेशले एक युवतीलाई जंगलमा लगी खुकुरी देखाएर धम्काउँदै कुटपिट गरेको भिडियो आफैंले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडियो सार्वजनिक भएसँगै घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

घटनामा संलग्न रहेको आरोपमा तुलसीपुरकै २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको तथा घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कुटपिटबाट पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा अनुसन्धान थालेको प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM