२०८३ जेष्ठ २५ गते, सोमबार १३:३७

नेपाल छिर्न लागेका भारतीय नेता सीमाबाट पक्राउ

कोलकाता (एजेन्सी) । पश्चिम बंगाल प्रहरीको विशेष कार्य दलले आज एक ठूलो सफलता हासिल गर्दै तृणमूल कांग्रेसका प्रभावशाली एवं विवादित नेता जहाँगीर खानलाई भारत-नेपाल सीमा क्षेत्र नजिकबाट नियन्त्रणमा लिएको छ।

पश्चिम बंगालको फलता निर्वाचन क्षेत्रमा भएको चुनावी हिंसा, मतदातालाई धम्काएको र अवैध रूपमा जग्गा कब्जा गरेको जस्ता गम्भीर कानुनी मुद्दाहरूमा फरार रहेका खान नेपालतर्फ भाग्न खोज्दै गर्दा पक्राउ परेका हुन्।

पक्राउ परेका जहाँगीर खान अखिल भारतीय तृणमूल कांग्रेसका शीर्ष नेता अभिषेक बनर्जीका निकट सहयोगी एवं फलता क्षेत्रका मुख्य चुनावी अनुहार मानिन्छन्। यसअघि कलकत्ता उच्च अदालतले खानलाई गिरफ्तारीबाट अन्तरिम संरक्षण प्रदान गरेको थियो, जसका कारण प्रहरीले उनलाई फलता उप-निर्वाचन र पुनः मतदान नसकिउन्जेल पक्राउ गर्न पाएको थिएन।

तर, हालै उच्च अदालतले उक्त अन्तरिम संरक्षण आदेशलाई खारेज गरिदिएपछि खान विरुद्ध गैर-जमानती वारेन्ट जारी भएको थियो। अदालतको ढोका बन्द भएलगत्तै कानुनी कारबाही र गिरफ्तारीबाट बच्न उनी दक्षिण २४ परगना जिल्लाबाट भागेर उत्तर बंगाल हुँदै नेपाल छिर्ने योजनामा थिए।

खानको सम्भावित फरार योजनाको सूचना पाएपछि पश्चिम बंगाल एसटीएफ र स्थानीय प्रहरी प्रशासनले नेपालसँग जोडिएका सीमावर्ती इलाकाहरूमा उच्च सतर्कता अपनाएका थिए। सिलगढी र वरपरका खुफिया सुराकका आधारमा एसटीएफ टोलीले सीमा पार गर्नु अगावै उनलाई घेराबन्दी गरेर नियन्त्रणमा लिन सफल भएको हो।

खान विरुद्ध विभिन्न प्रहरी स्टेशनमा मतदाताहरूलाई डर-त्रास देखाएको, बुथ कब्जा गरेको र विपक्षी दलका कार्यकर्ताहरूमाथि सांघातिक हमला गराएको भन्दै ७ वटा गम्भीर आपराधिक मामिला दर्ता छन्।

फलता क्षेत्रमा पुनः मतदानका क्रममा भएको व्यापक हिंसा र धाँधलीमा उनको प्रत्यक्ष संलग्नता रहेको आरोप छ। निर्वाचन आयोगद्वारा खटाइएका उत्तर प्रदेश क्याडरका वरिष्ठ आईपीएस अधिकारी अजय पाल शर्मालाई धम्काएको र उनको कार्य सम्पादनमा अवरोध पुर्‍याएको आरोपमा समेत उनीमाथि अनुसन्धान भइरहेको छ।

जहाँगीर खानको गिरफ्तारीपछि पश्चिम बंगालको राजनीतिमा आरोप-प्रत्यारोपको शृङ्खला तीव्र बनेको छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले खानलाई डरपोकको संज्ञा दिँदै उनी चुनावी मैदान र कानुनी प्रक्रियाबाट भागिरहेको भन्दै व्यङ्ग्य गरेका छन्।

अर्कातर्फ, तृणमूल कांग्रेसले यी आरोपहरूलाई अस्वीकार गर्दै केन्द्र सरकारको दबाबमा विपक्षी नेताहरूलाई सिध्याउन राजनीतिक प्रतिशोधका आधारमा मुद्दाहरू रचिएको दाबी गरेको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी खानलाई आजै अदालतमा पेस गर्ने र थप सोधपुछका लागि हिरासतको माग गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM