२०८३ जेष्ठ २४ गते, आईतवार १८:४९

पर्सामा २५ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी

वीरगञ्ज । पर्सामा २५ वर्षअघि भएको कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तत्कालीन साविक धोरे–८ (हाल पखाहामैनपुर गाउँपालिका–१) निवासी २६ वर्षीया रावती भन्ने रीना देवीको घरेलु विवादका क्रममा घाँटी थिची हत्या गरिएको घटनामा संलग्न रहेका प्रतिवादी काशीप्रसाद चौहानलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार २०५८ साल मंसिर २६ गते बिहान करिब ८ बजे भएको उक्त घटनापछि चौहान फरार रहँदै आएका थिए। लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आफ्नै घरठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

पखाहामैनपुर गाउँपालिका–१ निवासी ५० वर्षीय चौहानलाई आइतवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउपछि उनलाई कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले फरार अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ। २५ वर्षसम्म कानुनको आँखाबाट बच्न सफल भएका प्रतिवादी अन्ततः पक्राउ परेसँगै पुरानो जघन्य अपराधको अनुसन्धानले नयाँ मोड लिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM