२०८३ जेष्ठ १८ गते, सोमबार १५:१६

पर्सामा भारतीयलाई नेपाली नागरिकता दिएको आरोपमा पुरानो फाइल ब्युँतियो, होला त कारवाही?

वीरगंज। झुटा विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेको आरोप लागेका एउटै परिवारका सात जना व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय पर्साले सोधपुछका लागि बोलाएको स्रोतले जनाएको छ।

२०७७ कात्तिक १ गते दर्ता भएको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकता प्राप्तिको प्रक्रियाबारे छानबिन अघि बढाएको थियो। सोही क्रममा सम्बन्धित व्यक्तिहरूलाई उपस्थित हुन भनिएको जानकारी प्राप्त भएको छ।

उजुरीमा भारतको बिहार राज्य अन्तर्गत आदापुर क्षेत्र, हरपुरथाना श्रीसिया कला वडा नं. ४ स्थायी ठेगाना भएका रामनाथ साह सोनार, उनकी पत्नी कान्ति देवी, शम्भु साह सोनार, उनकी पत्नी पार्वती देवी, शम्भु र पार्वतीका छोरा गोपालप्रसाद सोनार तथा भारतमा बच्चा साह नामले चिनिने रामनरेश साह सोनार र उनकी पत्नी मञ्जुदेवीले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोप लगाइएको छ।

एउटै भारतीय र नेपाली मतदाता

उजुरीकर्ताले तत्कालीन जिल्ला प्रशासन कार्यालय पर्साका केही कर्मचारी तथा साविक बगही गाविस वडा नं. ३ (हाल वीरगञ्ज महानगरपालिका–२८) का तत्कालीन वडा अध्यक्ष तथा पञ्जिकाधिकारीसँगको मिलेमतोमा नागरिकता लिइएको दाबी गरेका छन्। यद्यपि उक्त आरोपहरूबारे सम्बन्धित निकायबाट अन्तिम निष्कर्ष सार्वजनिक भइसकेको छैन।

उजुरीमा नागरिकता प्राप्तिपछि उनीहरू सुनचाँदी तस्करी, अवैध भारतीय मुद्रा कारोबार, हुण्डी कारोबार तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपसमेत लगाइएको छ। त्यसबाट आर्जित सम्पत्तिको आधारमा वीरगञ्जका विभिन्न स्थानमा घरजग्गा जोडेको दाबी पनि उजुरीमा उल्लेख छ।

यसैबीच, उनीहरूको सम्पत्तिसम्बन्धी विषयमा समेत २०७८ मंसिर २० गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको बताइएको छ। उजुरीकर्ताले आर्थिक प्रभाव र पहुँचका आधारमा विषयलाई प्रभावित पार्ने प्रयास हुँदै आएको आरोप लगाएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साबाट बोलावट पुगेपछि सम्बन्धित व्यक्तिहरूले विभिन्न माध्यमबाट मुद्दा मिलाउन प्रयास गरिरहेको सूचना प्राप्त भएको स्रोतको दाबी छ। यद्यपि यस विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ।

नागरिकता जस्तो संवेदनशील विषयसँग जोडिएको यो प्रकरण अब प्रशासनिक छानबिनबाट कुन निष्कर्षमा पुग्छ भन्ने चासो बढेको छ। छानबिनले उजुरीमा उठाइएका प्रश्नहरूको यथार्थ उजागर गर्ने हुन् की विगतमा झैँ प्रभावमा परेर फाइल थन्क्याइने हो, चासोको विषय बनेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM