२०८३ जेष्ठ १७ गते, आईतवार २०:४०

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक हो, संसदमै स्पष्ट पार्नु पर्छ : खुस्बु ओली

– जलेश्वर सर्राफ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुशबु ओलीले प्रधानमन्त्रीले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल स्पष्टता दिन सरकारसँग माग गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सांसद ओलीले नेपालको सार्वभौम संघीय संसदजस्तो गरिमामय थलोमा प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्ति सामान्य टिप्पणीका रूपमा लिन नसकिने बताएकी छन्। राज्यको सार्वभौमिकता, भौगोलिक अखण्डता र कूटनीतिक सम्बन्धसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त संवेदनशील रहेको उनको भनाइ छ।

ओलीले प्रधानमन्त्रीको भनाइले मुलुकभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै गलत सन्देश प्रवाह हुन सक्ने चिन्ता व्यक्त गरेकी छन्। उनले नेपालले वास्तवमै भारतको भूमि अतिक्रमण गरेको हो भने कहाँ, कहिले, किन र कुन आधारमा त्यस्तो अवस्था सिर्जना भयो भन्नेबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन्।

उनले भोलिको संसद बैठकमै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्दै राष्ट्रको सार्वभौमिकता र संस्थागत गम्भीरता कुनै पनि हालतमा सम्झौता गर्न नसकिने विषय भएको उल्लेख गरेकी छन्।

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिको सार्वजनिक अभिव्यक्तिले राष्ट्रिय हित, कूटनीतिक सन्तुलन र जनविश्वासमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले प्रत्येक शब्दको प्रभाव बुझेर मात्रै अभिव्यक्ति दिन आवश्यक रहेको ओलीको भनाइ छ।

सांसद ओलीले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे सरकारले तत्काल आधिकारिक स्पष्टीकरण दिनुपर्ने मागसमेत गर्दै अन्यथा यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे भ्रमपूर्ण सन्देश जान सक्ने चेतावनी दिएकी छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM