२०८३ जेष्ठ १८ गते, सोमबार ११:४७

प्रधानमन्त्रीको बयान राष्ट्रघाती, भारत रिझाउन भूमि छाड्ने बदनियत: साम्पाङ

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको गम्भीर आरोप लगाएका छन्।

पूर्व तालिकाबिना नै आकस्मिक रूपमा बोलाइएको सदनको बैठकमा प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भनी दिएको बयानप्रति श्रम संस्कृति पार्टीले कडा आपत्ति जनाउँदै विरोध गरेको हो।

अध्यक्ष साम्पाङद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा जानुअघि भारतलाई रिझाउनका लागि प्रधानमन्त्रीले यस्तो विवादित अभिव्यक्ति दिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको भनाइले नेपालको सीमा मिचिएको वास्तविक मुद्दालाई रफादफा गर्ने, लिपुलेक र लिम्पियाधुरा फिर्ता हुनुपर्छ भन्ने नेपाली जनताको जायज मागलाई सामसुम पार्ने तथा नेपालले आफ्नै धेरै ठाउँको भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ ।” प्रधानमन्त्रीले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थितिका बारेमा गम्भीर अस्पष्टता पैदा गरेको ठहर पार्टीले गरेको छ।

श्रम संस्कृति पार्टीले सीमा रक्षा र भौगोलिक अखण्डताप्रति वर्तमान सरकार र प्रधानमन्त्री कत्ति पनि प्रतिबद्ध नरहेको आरोप लगाएको छ। सरकारले राष्ट्रिय सेनाको प्रयोग गलत ठाउँमा गरिरहेको टिप्पणी गर्दै विज्ञप्तिमा भनिएको छ, “नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र आफ्नै गरीब जनताका सुकुमबासी बस्तीमा हमला गर्नमै सीमित राखिएको छ।”

आफ्नो सेनालाई सिमानामा चियाउन समेत नपठाउने सरकारका प्रमुखले उल्टै नेपालले नै भारतको सीमा धेरै ठाउँमा मिचेको भन्दै हिँड्नु लज्जास्पद भएको साम्पाङले उल्लेख गरेका छन्। प्रधानमन्त्रीको यो गैरजिम्मेवार अभिव्यक्तिले मुलुकको सार्वभौमसत्तामाथि नै आँच पुर्‍याएको भन्दै राजनीतिक वृत्तमा यसको तीव्र आलोचना भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM