२०८३ जेष्ठ १७ गते, आईतवार १९:२१

राप्रपा फुट्ने निश्चित, डा. धवल शम्शेरद्वारा नयाँ राष्ट्रवादी शक्ति निर्माणको आह्वान 

काठमाडौँ/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. धवलशम्शेर राणाले मुलुकमा एउटा ‘विश्वसनीय राष्ट्रवादी शक्ति’ निर्माणका लागि नयाँ अभियानको घोषणा गर्नुभएको छ।

आइतवार एक लिखित ‘हार्दिक आह्वान’ जारी गर्दै उहाँले देश तथा विदेशमा रहेका शुभेच्छुक, सहयोद्धा र नवयुवा पुस्तालाई यस नयाँ यात्रामा सहभागी हुन खुला अपिल गर्नुभएको हो। लामो समयदेखि राप्रपाभित्र वैचारिक स्पष्टता र नेतृत्वको कार्यशैलीलाई लिएर असन्तुष्टि देखिँदै आएका बेला राणाको यो कदम सार्वजनिक भएको छ, जसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

आफ्नो आधिकारिक वक्तव्यमा डा. राणाले शुभेच्छुक तथा सहयात्रीहरूको राय सल्लाह बमोजिम नै आफूले आगामी राजनीतिक बाटो तय गर्ने निश्चय गरेको उल्लेख गर्नुभएको छ। समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट व्यापक सुझाव र शुभेच्छा प्राप्त भएको दाबी गर्दै उहाँले देशलाई माया गर्ने र समृद्धिको चाहना राख्ने आम राष्ट्रवादी मित्रहरूलाई एकजुट हुन आग्रह गर्नुभएको छ। खासगरी नयाँ पुस्तालाई देश निर्माणको यो अभियानमा जोडिन उहाँले विशेष जोड दिनुभएको छ।

विगतको समीक्षा गर्दै डा. राणाले आफ्नो वर्तमान पार्टी राप्रपाको नामै तोकेर गम्भीर टिप्पणी गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावना अनुकूल अघि बढाउने प्रयास गरिए तापनि पार्टीभित्रको विरोधाभास र सैद्धान्तिक द्विविधाका कारण गलत बाटो समात्नुपरेको उहाँको निष्कर्ष छ। यही वैचारिक अलमल र गलत मार्गकै कारण राप्रपा जनताबाट दण्डित हुनुपरेको यथार्थ उहाँले वक्तव्यमा ओकल्नुभएको छ।

पार्टीभित्रै रहेर सुधारको प्रयास असफल भएपछि वा नेतृत्वको कार्यशैलीप्रति विमति चुलिएपछि उहाँले यो कठोर कदम चालेको बुझ्न सकिन्छ।

राप्रपामा आबद्ध रहेका सहकर्मीहरूप्रति आफ्नो कुनै व्यक्तिगत वैरभाव नरहेको स्पष्ट पार्दै डा. राणाले भन्नुभएको छ, “राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ भने त्यतै रहन शुभकामना छ, यसमा मेरो कुनै रिसराग छैन।” तर, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर पुराना मान्यताहरूलाई सही लक्ष्य र उचाइ दिने चाहना राख्ने हो भने सबै राष्ट्रवादी मित्रहरू एक ठाउँमा उभिनुको विकल्प नभएको उहाँको जिकिर छ।

डा. राणाको यो घोषणासँगै राप्रपा फुट्ने निश्चित भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM