२०८३ जेष्ठ १२ गते, मंगलवार १८:५७

वीरगंजका नगर प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

– जलेश्वर सर्राफ/

वीरगञ्ज । किर्ते नागरिकता सम्बन्धी बहुचर्चित मुद्दामा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको खुलासा भएको छ।

पर्सा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गर्दै नगर प्रमुख सिंहसहित केही व्यक्तिलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन निर्देशन दिएको हो।

पर्सा जिल्ला अदालत वीरगञ्जबाट जारी गरिएको पत्रअनुसार उक्त मुद्दा “०८२–CI–१०८३” नम्बरमा दर्ता रहेको देखिन्छ। अदालतले २०८३ जेष्ठ १२ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई सम्बोधन गर्दै पक्राउ पुर्जी सम्बन्धी पत्र पठाएको हो।

अदालतको पत्रमा नेपाल सरकार वादी रहेको किर्ते सम्बन्धी मुद्दामा प्रतिवादीहरूको नाममा सात दिने पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ। अदालतले प्रहरीलाई सात दिनभित्र प्रतिवादीहरूलाई पक्राउ गरी उपस्थित गराउन निर्देशन दिएको छ। यदि उक्त अवधिमा पक्राउ गर्न नसकिएमा ३५ दिने पक्राउ पुर्जी तामेल गरी सोको प्रतिवेदन अदालतमा पेश गर्न भनिएको छ।

पत्रमा उल्लेख गरिएका व्यक्तिहरूमध्ये वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी तथा वडा नम्बर १५ निवासी रामबाबु रायका छोरा, वर्ष ६१ का “भिखारी राय” को नाम पनि समावेश गरिएको छ। साथै अन्य दुई व्यक्तिको परिवर्तित नामसम्बन्धी विवरणसमेत उल्लेख गरिएको छ।

अर्काकी छोरी (रिता भट्टराई) रुविना भट्टराई श्रेष्ठ लाई किर्ते जन्मदर्ताको आधारमा नागरिकता बनाईदिएको अभियोगमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रतिवादी बनाई छपकैयाका लियाकत अलिले मुद्दा दर्ता गराएका थिए। जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा दर्ता नगर्दा निजले उच्च अदालत जनकपुरका स्थाई ईजलास वीरगंजबाट परमादेश गराईए पश्चात् सरकारी वकिल कार्यालय पर्साले मुद्दा दर्ता गरी कार्यवाही प्रक्रिया अगाडी बढाएको थियो।

नगर प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको भनिएको विषय सार्वजनिक भएसँगै वीरगञ्जको राजनीतिक तथा प्रशासनिक वृत्तमा तरंग उत्पन्न भएको छ।

उता, कानुन व्यवसायीहरूका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी हुनु प्रारम्भिक कानुनी प्रक्रिया भएको र अन्तिम फैसला नभएसम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने बताइएको छ। तर जनप्रतिनिधिसँग जोडिएको संवेदनशील प्रकरण भएकाले यसले राजनीतिक प्रभावसमेत पार्न सक्ने चर्चा सुरु भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM