काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा अवैध यौन गतिविधि नियन्त्रणका लागि काठमाडौं प्रहरीले निगरानी र अपरेशन तीव्र बनाएपछि पछिल्लो दुई महिनामा ४१ विदेशी महिला पक्राउ परेका छन्। सोमबार मात्रै प्रहरीले ठमेल क्षेत्रबाट पाँच विदेशी महिलालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सोह्रखुट्टेको संयुक्त टोलीले पक्राउ गरेका महिलामध्ये चार जना युगाण्डाकी र एक जना केन्याकी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू भिजिट भिसामा नेपाल आएर ठमेल क्षेत्रमा यौनधन्दामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार विदेशी पर्यटक तथा स्वदेशी ग्राहकलाई लक्षित गर्दै ठमेलका सडक र रात्रीकालीन व्यवसाय सञ्चालन हुने क्षेत्र आसपास उनीहरूले खुलेआम मोलमोलाई गर्दै यौनकर्मीको रूपमा काम गर्ने गरेको पाइएपछि पक्राउ गरिएको हो। पक्राउ परेकामाथि आवश्यक म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
यसअघि गत ८ जेठमा पनि प्रहरीले ठमेलबाट सात विदेशी महिलालाई पक्राउ गरेको थियो। उनीहरू पनि युगाण्डाकै नागरिक रहेको प्रहरीको भनाइ छ। बाटो छेक्दै पर्यटक तथा सर्वसाधारणलाई हैरानी दिने र यौनधन्दाका लागि ग्राहक खोज्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीका अनुसार ठमेल क्षेत्रमा सक्रिय विदेशी महिलाहरूको उमेर समूह २३ देखि ४५ वर्षसम्म रहेको छ भने अधिकांश ३० वर्ष आसपासका छन्। उनीहरू भिजिट भिसामा नेपाल प्रवेश गर्ने, भिसाको अवधि सकिनुअघि ठमेल क्षेत्रमा यौनधन्दाबाट रकम आर्जन गर्ने र त्यसपछि स्वदेश फर्किने गरेको अनुसन्धानबाट देखिएको एक प्रहरी अधिकारीले बताए।
यसअघि ११ चैत २०८२ मा प्रहरीले ठमेलको फायरचोक क्षेत्रबाट २० विदेशी महिलालाई पक्राउ गरेको थियो। सार्वजनिक स्थलमै यौनधन्दाका लागि पैसाको बार्गेनिङ गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको थियो। पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरूलाई अध्यागमन विभाग बुझाइएको थियो। अध्यागमन विभागले उनीहरूलाई एक वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै डिपोर्ट गरेको थियो।
प्रहरी अभिलेखअनुसार दुई वर्षअघि पनि ठमेलबाट आठ युगाण्डाकी र एक केन्याकी महिला पक्राउ परेका थिए। त्यसपछि केही समय यस्ता गतिविधिविरुद्ध अपरेशन सुस्त भए पनि अहिले “सुरक्षित काठमाडौं अभियान” अन्तर्गत प्रहरीले पुनः निगरानी कडा बनाएको जनाएको छ।
काठमाडौं प्रहरीले पछिल्लो समय ठमेलसहितका पर्यटकीय क्षेत्रमा रात्री गस्तीसमेत बढाएको छ। जेनजी आन्दोलनपछि चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने आकलन गर्दै सुरक्षा सतर्कता कडा पारिएको एसएसपी थापाले बताए। उनका अनुसार पर्यटकको आवागमन बढी हुने क्षेत्र भएकाले ठमेललाई विशेष निगरानीमा राखिएको छ।















