२०८३ जेष्ठ ११ गते, सोमबार १२:४६

संखुवासभा पहिरोप्रति पूर्वमन्त्री दीपक खड्काद्वारा दुःख व्यक्त, राहत र पुनर्स्थापनामा सरकारको ध्यानाकर्षण

काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले संखुवासभाको मकालु गाउँपालिकामा गएको पहिरोबाट ठूलो संख्यामा पशुचौपाया तथा भौतिक सम्पत्तिमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत वि.सं. २०८३ साल जेठ ९ गते शनिबार बिहान गएको पहिरोका कारण मकालु गाउँपालिका–५ स्थित भेडीगोठ बगाउँदा २१८ वटा भेडा पुरिएर बेपत्ता भएको घटनाले आफू अत्यन्त मर्माहित भएको बताएका हुन्। उक्त घटनाबाट कृषक तथा पशुपालक परिवारहरू गम्भीर संकटमा परेको उल्लेख गर्दै उनले पीडितप्रति सहानुभूति प्रकट गरेका छन्।

पूर्वमन्त्री खड्काले नेपाल सरकारसमक्ष पीडित परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा पुनर्स्थापनाका लागि प्रभावकारी कदम चाल्न हार्दिक आग्रह गरेका छन्। साथै, उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै गत आर्थिक वर्षमा भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाका लागि विपद् व्यवस्थापन तथा संरक्षण उद्देश्यले बजेट विनियोजन गरिएको स्मरण गराएका छन्।

उनले आगामी आर्थिक वर्षमा पनि यस्ता संवेदनशील तथा जोखिमयुक्त हिमाली क्षेत्रमा विपद् व्यवस्थापनका लागि पर्याप्त र प्रभावकारी बजेटको व्यवस्था गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

पूर्वमन्त्री खड्काले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, पुनर्स्थापना तथा दीर्घकालीन संरक्षणका कार्यक्रमहरू शीघ्र र प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायसँग विशेष आग्रह गरेका छन्।

“जनताको दुःखमा सरकार सधैं साथमा रहनुपर्छ,” भन्ने मान्यतासहित पीडित कृषकहरूको जीवन पुनः सामान्य बनाउन आवश्यक सहयोग, सहकार्य र संवेदनशील पहलका लागि सम्पूर्ण सरोकारवालाहरूलाई समेत उनले अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM