२०८३ जेष्ठ १० गते, आईतवार ०९:१९

ट्रम्प ह्वाइट हाउसभित्र, बाहिर अन्धाधुन्ध गोली प्रहार

वासिङ्टन डीसी। अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउस नजिकै रहेको एउटा सुरक्षा जाँच चौकी (चेकपोइन्ट) मा गोली चल्दा एक जनाको मृत्यु भएको छ।

वासिङ्टन डीसीस्थित १७औँ सडक र पेन्सिल्भेनिया एभिन्यूको कुनामा अवस्थित चेकपोइन्टमा शनिबार साँझ उक्त हिंस्रक घटना भएको हो। झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाउने एक सर्वसाधारण व्यक्ति अमेरिकी गुप्तचर सेवा (सीक्रेट सर्भिस) को जवाफी कारबाहीमा मारिएका छन्।

सुरक्षा जाँचका क्रममा ती संदिग्ध व्यक्तिले अचानक आफ्नो झोलाबाट हतियार निकाली त्यहाँ तैनाथ सुरक्षाकर्मीमाथि प्रहार गरेका थिए।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले तत्कालै चलाएको गोली लागेर ती आक्रमणकारी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तुरुन्तै अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषित गरिदिएको बीबीसीले जनाएको छ। यो मुठभेडका क्रममा ह्वाइट हाउसको सुरक्षामा खटिएका कुनै पनि सुरक्षाकर्मीलाई भने चोट लागेको छैन।

यो अप्रत्याशित घटना हुँदाका बखत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेका थिए। राष्ट्रपति पूर्ण रूपमा सुरक्षित रहेको र उनलाई कुनै खतरा नरहेको अधिकारीहरूले पुष्टि गरेका छन्।

गोलीकाण्ड लगतै ह्वाइट हाउस र आसपासको सम्पूर्ण क्षेत्रलाई नियन्त्रणमा लिएर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। अमेरिकी सुरक्षा निकायहरूले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिसकेका छन् भने मारिएका आक्रमणकारीको पहिचान र उनको यो कदम पछाडिको मुख्य उद्देश्य अहिल्यै सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM