वीरगंज/ पर्सा प्रहरीले भन्सार छलि गरी भारतबाट नेपाल भित्र्याइएको मोटरसाइकलमा प्रयोग हुने पिस्टनसहित अटो रिक्सा र चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा प्रयोग हुने पिस्टन १०० थान बरामद गरेको हो। उक्त सामान अवैध रूपमा भन्सार छली गरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले पिस्टन बोकेको अटो रिक्सा तथा चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ।
बरामद गरिएको सामान, अटो रिक्सा लगायतको कुल अनुमानित मूल्य ३ लाख १० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।














