काठमाडौं । नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई) अनलाइन जुवा खेलमा करोडौँ रुपैयाँ डुबाएको आरोप लागेपछि फरार भएका छन्।
प्रहरी स्रोतका अनुसार काठमाडौं उपत्यकास्थित अपराध अनुसन्धान कार्यालयमा कार्यरत असई विनोद पौडेलले आफ्ना सहकर्मी र माथिल्ला अधिकृतसमेतलाई उच्च ब्याज दिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ उठाएका थिए। तीमध्ये सहायक हवल्दार मनिराज उप्रेतीको मात्रै करिब ३० लाख रुपैयाँ उनले लगानीका नाममा लिएको खुलेको छ।
उप्रेती भने यसअघि नै अनुशासन उल्लंघन र घुमुवा गतिविधिमा संलग्न रहेको आरोपमा नक्सालस्थित १ नम्बर गणमा कारबाहीमा परेका थिए। उनीसँग संलग्न रकमसमेत अनलाइन जुवामै डुबेको खुल्न थालेपछि प्रहरीभित्र ठूलो चर्चा बनेको छ।
प्रहरी स्रोतका अनुसार पौडेलले सहायक हवल्दार भोलाकाजी भण्डारी (३ लाख), दिवाकर फुँयाल (६ लाख), गंगालाल श्रेष्ठ (२१ लाख) लगायतबाट रकम संकलन गरेका थिए। यस्तै सुन्धारा कारागारमा कार्यरत सई हस्तबहादुर शाहीसँग पनि उनले ८ लाख रुपैयाँ उठाएको विवरण फेला परेको छ।
आरोप अनुसार, पौडेलले घर निर्माण, आमाको उपचार र जग्गा खरिदजस्ता कारण देखाउँदै रकम मागेका थिए। तर, वास्तविकता भने अनलाइन जुवामै सबै रकम लगाएको बताइन्छ। प्रहरीकै एक अधिकारीका अनुसार उनले अधिकांशलाई मासिक २०–२५ प्रतिशत ब्याज दिने आश्वासन दिएका थिए। त्यही प्रलोभनमा परेर केही पूर्व प्रहरी अधिकृतसम्मले समेत लगानी गरेको खुलेको छ।
यो विषय बाहिर नआउँदा लामो समय गुपचुप राखिएको भए पनि असई पौडेल वैशाखदेखि नै कार्यालयमा हाजिर नभएपछि घटना सार्वजनिक भएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले भने, “उप्रेतीको रकम कसरी आयो भन्नेबारे पनि हामी अनुसन्धान गर्दैछौँ। यस प्रकरणमा धेरै तहका व्यक्तिहरू संलग्न भएको प्रारम्भिक संकेत छ।”
हाल प्रहरीले पौडेलको खोजी तीव्र पारेको जनाएको छ।
















