धरान – सुनसरीको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन्।
मृतकहरू दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन्। श्यामबहादुर तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने रमेश राई कामदार थिए, जानकारी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले दिए।
आज बिहान करिब १० बजे दुहबी–४ शिव मन्दिर चोकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको ट्याङ्कीमा उनीहरू मृत फेला परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रवक्ता खतिवडाका अनुसार थप अनुसन्धान र फरेन्सिक परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली घटनास्थलमा पुगेको छ। मृत्युको कारण हालसम्म खुलेको छैन र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
















