कञ्चनपुर, साउन २० — कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ मा घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी १७ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान्, सासू र ससुरालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार पक्राउ पर्नेमा मृतककी श्रीमान् २४ वर्षीय पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्ट रहेका छन्। सम्झनाका माइती पक्षको जाहेरीका आधारमा प्रहरीले आइतबार पवनलाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरेको छ। त्यसपछि सासू र ससुरालाई पनि पक्राउ गरिएको डीएसपी बोहराले जानकारी दिए।
“आत्महत्या दुरुत्साहन मुद्दामा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइरहेका छौं,” उनले भने।
प्रहरीका अनुसार सम्झना आइतबार बिहान आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्। माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले दाइजोको बहानामा शारीरिक र मानसिक यातना दिएको आरोप लगाएका छन्। उनीहरूको दाबी अनुसार निरन्तर घरेलु हिंसा र तनावका कारण सम्झनाले आत्महत्या गर्न बाध्य भएकी हुन्।
सम्झना र पवनले करिब छ महिनाअघि प्रेम विवाह गरेका थिए। गत शनिबार दम्पतीबीच विवाद भई दुबैजना बेलडाँडी प्रहरी चौकी पुगेका थिए। प्रहरीका अनुसार त्यतिबेला सम्झाइ–बुझाइ गरेर घर पठाइएको थियो। तर भोलिपल्ट सम्झना मृत फेला परिन्।
मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।















