वीरगंज। पर्सा जिल्लामा पछिल्ला दुई आर्थिक वर्षको सवारी दुर्घटनासम्बन्धी तथ्यांकले जिल्ला ट्राफिक प्रहरी कार्यालयको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार जिल्लामा दुर्घटनाको संख्या मात्र होइन, त्यसबाट ज्यान गुमाउनेको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ।
२०७९/८० को तुलनामा २०८०/८१ मा दुर्घटना, घाइते र मृतकको दर बढेको छ भने २०८१/८२ मा ती सबै सूचकांक झनै चर्किएका छन्। २०८०/८१ मा ५४४ वटा सवारी दुर्घटनासहित कुल ७९६ दुर्घटना भएका थिए। ती दुर्घटनामा ४३ पुरुष, ७ महिला र एक बालिकाले ज्यान गुमाए। घाइते हुनेको संख्या ८०४ थियो। त्यसवर्ष मात्र २ करोड ७६ लाख ६१ हजार ९५ रुपैयाँ जरिवाना असुल गरिएको थियो।
तर त्यसको एक वर्षमै दुर्घटनाको संख्या ५० प्रतिशतभन्दा बढीले उकालो लाग्यो। २०८१/८२ मा ७ सय ५६ वटा सवारी दुर्घटनासहित कुल एक हजार एक सय ४४ दुर्घटनाहरू दर्ता भए। यस अवधिमा ४७ पुरुष, ३ महिला, एक बालक र एक बालिकासहित ५२ जनाले अकालमै ज्यान गुमाएका छन्। घाइते हुनेको संख्या एक हजार एक सय ४६ पुगेको छ। यसैबीच, ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि कडाइ गरिएको भन्दै २ करोड ८१ लाख ४९ हजार ३५० रुपैयाँ जरिवाना असुल गरिएको विवरण छ।
तर यो सारा विवरण हेर्दा पर्सा जिल्लाको ट्राफिक व्यवस्था ‘कागजमा चुस्त, व्यवहारमा अस्तव्यस्त’ देखिन्छ। ट्राफिक प्रहरी कार्यालयले कार्यक्रम, प्रशिक्षण, सचेतना र सहकार्यका नाममा सयौँ कार्यक्रम गरेको दाबी गर्दै आएको छ। तर ती सबै क्रियाकलापको परिणाम उल्टो देखिएको छ—दुर्घटनामा वृद्धिको रूपले।
पर्सा ट्राफिक प्रहरी प्रमुखका रूपमा प्रहरी निरीक्षक लोकराज भट्टको नियुक्तिपछि ट्राफिक व्यवस्थापन सुशासनभन्दा बढी असुलीकेन्द्रित भएको भन्दै आलोचना बढेको छ। सडकमा ट्राफिक चेकजाँचभन्दा पैसा असुल्न व्यस्त देखिने ट्राफिक प्रहरीहरू व्यवसायिक मर्यादाभन्दा अनैतिक लाभमा लिप्त भएको स्थानीय एवं चालकहरु बताउँछन्।
एक स्थानीय यातायात व्यवसायीको भनाइमा—”भट्ट आएपछि सवारी जाँचको नाममा चालकमाथि दु:ख दिने, धम्क्याउने, नाजायज पैसा असुल्ने प्रवृत्ति बढेको छ। नियम उल्लङ्घन गर्ने कारबाहीको नाममा खुद ट्राफिक नै ट्राफिक अपराधमा लागिरहेको महसुस हुन्छ।”
पर्सा जिल्लामा मात्र नभई मधेस प्रदेशभरका आठवटा ट्राफिक कार्यालयको मूल्याङ्कनपछि प्रहरी निरीक्षक भट्टलाई उत्कृष्ट घोषित गरिएको छ। तर तथ्यांकको धरातलमा हेर्ने हो भने त्यो ‘उत्कृष्टता’ निराधार लाग्छ। २०८१/८२ को एक महिनामा मात्र अर्थात् असार महिनामा मात्रै पर्सामा ७२ वटा दुर्घटना भएका छन् जसमा ९९ जना घाइते भएका छन् भने पाँच जनाले ज्यान गुमाएका छन्।
के यही उत्कृष्टताको मापदण्ड हो? के ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा पनि नेतृत्व गुण, जनसम्पर्क र निर्णय क्षमताको कुरा गरेर कुनै निरीक्षकलाई पुरस्कृत गर्नु नै संस्थागत सफलता हो?
आम मानिसलाई सडकमा हिँड्न डर लाग्ने अवस्था बनिसकेको छ। व्यस्त चोकहरूमा ट्राफिक प्रहरी देखिए पनि उनीहरूको ध्यान नियम लागू गराउनेभन्दा चालकसँग बोल्ने भाषा, कराउने शैली र कागज माग्ने बहानामा पैसा असुल्नेतिर लाग्ने गरेको पाइन्छ।
यो स्थितिले पर्सा ट्राफिक प्रहरी कार्यालयलाई नियन्त्रण संस्था होइन, ‘लेभी कलेक्सन सेन्टर’ बनाइदिएको महसुस गराउँछ।
अर्कोतर्फ, प्रहरी प्रशासन भित्रैबाट भट्टको नेतृत्वप्रति शङ्का व्यक्त हुँदै आएको छ। “फाइलमा सजिलो रिपोर्ट लेख्न जान्ने, माथिल्लो तह सन्तुष्ट पार्न सक्ने र कागजमा उपस्थिति देखाउने तर मैदानमा शून्य प्रभाव भएको व्यक्ति उत्कृष्ट घोषित हुँदा सबै ट्राफिक प्रहरीप्रतिको विश्वास नै डगमगिन्छ,” एक प्रहरी स्रोत भन्छ।
पर्सा अहिले मधेस प्रदेशको सडक दुर्घटनाको केन्द्रबिन्दु बन्न थालेको छ। तर दुर्घटनाको प्रत्यक्ष जिम्मेवारी बोक्ने ट्राफिक प्रहरी निकायले त्यसको गम्भीर मूल्याङ्कन गर्नुको साटो आँकडामा रंग भर्ने र पुरस्कार पचाउने खेलमा रमाइरहेको देखिन्छ।
सवारी दुर्घटना नियन्त्रित गर्नुको सट्टा यसको नियमितता बढ्दो छ भने त्यो निकायको नेतृत्व असफलतामा गनिनुपर्छ। अनि त्यही असफलतालाई पुरस्कारमा रूपान्तरण गर्नु, राज्य संयन्त्रकै भद्दा व्यङ्ग्य हो।
दुर्घटनामा मृत्यु हुनेहरूको सूची बढ्दै गर्दा उनीहरूको मृत्युमा ‘नेतृत्व क्षमता’ देख्नु निरीक्षक भट्ट मात्र होइन, समग्र ट्राफिक मूल्याङ्कन प्रणालीकै साखमाथिको प्रश्न हो। पर्सा अब ‘नियम पालना गराउने’ भन्दा ‘कसरी बाँच्ने?’ भन्ने चिन्तामा बाँच्न थालेको जिल्ला बनिसकेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामातहतमा रहेको ट्राफिक पोष्टहरुमध्ये क्रमशः ड्राइपोर्ट, परवानीपुर, गण्डक, बसपार्कलगायतका ठाउँहरु बढी अवैध रुपमा पैसा संकलन गर्ने ठाउँमध्ये पर्ने गर्दछ । यी स्थानहरुमा प्रहरी निरीक्षक भट्टले आफ्ना विश्वासपात्र वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनीधि खकुरेलकोको डिजाइनअनुसार सबभन्दा बढी असुली गर्न सक्ने प्रहरी सहायक निरीक्षक ड्राईपोर्ट पोष्टका ईन्चार्ज प्रहरी सहायक निरीक्षक रामसहायक यादव, परवानीपुरमा प्रहरी नायब निरीक्षक गोबिन्द थापा, गण्डकमा प्रसनि गणेश यादव रहेका छन् ।
त्यस्तै जिल्लाभरीबाट सेटिङ्ग मिलाउने जिम्मा प्रहरी निरीक्षक भट्टका विश्वासपात्र ट्राफिक प्रहरी राजकुमार गोले रहेका छन् । गोलेले सबभन्दा बढी अनियमितता हुने यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमति पत्रमा पनि ठूलो लेनदेन र सेटिङ्ग मिलाउने गरेको स्रोतले जनाएको छ ।
सडक एवं ट्राफिक व्यवस्थापनमा मूख्य जिम्मेवार ट्राफिक प्रहरी नै जिम्मेवारीलाई भन्दा बढी गैरजिम्मेवारीतर्फ सक्रिय भएपछि सडक दुर्घटना, अंगभंग, अकालमृत्यु हुने नै भो ।
















