भक्तपुर, साउन १२ । नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गर्ने दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ स्थायी ठेगाना भई हाल मध्यपुर थिमी नगरपालिका–८ बोडे बस्ने २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोट घर भई हाल चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने २२ वर्षीय सुमन तामाङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले नक्कली सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा दिने प्रलोभन देखाएर दुई फरक घटनामा गरी साढे २१ लाख रुपैयाँ बराबरको ठगी गरेका थिए।
२०८१ फागुन २५ गते सूर्यविनायक नगरपालिका–६ बस्ने ओखलढुङ्गा स्थायी घर भएका एक व्यक्तिलाई इबामोरा चोकनजिकै बोलाई १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। त्यसैगरी, २०८२ जेठ २७ गते दोलखाका एक व्यक्तिलाई पान्डुबजार नजिकै बोलाई ९ लाख ५० हजार रुपैयाँ लिई फरार भएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।
उक्त घटनाको अनुसन्धान गर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको टोलीले दुवै अभियुक्तलाई भक्तपुर क्षेत्रबाटै पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले नक्कली सुन देखाएर हुने यस्ता ठगीप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।
















