म्याग्दी/करिब २२ वर्षदेखि फरार रहँदै आएका कर्तव्य ज्यानसम्बन्धी मुद्दाका प्रतिवादी के बहादुर गर्बुजालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ।
म्याग्दी जिल्ला अदालतले २०६८ साल जेठ ११ गतेको फैसलामार्फत गर्बुजालाई २० वर्ष कैद सजाय ठहर गरेको थियो। उनले २०६० साल कात्तिक ६ गते रातको १२ बजेको समयमा म्याग्दीको दग्नाममा घरमै सुतिरहेकै अवस्थामा धनराम तिलिजामाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा सजाय पाएका थिए।
घटनासम्बन्धी जाहेरी मृतकका आफन्त भूल बहादुर तिलिजाले दिएका थिए। अभियोग पुष्टि भएसँगै अदालतले गर्बुजालाई दोषी ठहर गरेको थियो। तर, फैसला अघि नै फरार भएका गर्बुजा लामो समयसम्म प्रहरीको निगरानी बाहिर रहँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनलाई म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामस्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गर्न सफल भएको हो। पक्राउपछिको प्रक्रिया अनुसार उनलाई अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार फरार अभियुक्तहरूको खोजी तथा पक्राउ कार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने अभियान अन्तर्गत यो सफलतापूर्ण पक्राउ भएको हो।
















