काठमाडौं । देशमा जलस्रोतको प्रचुरता हुँदाहुँदै पनि भूमिगत बोरिङबाट निकालिएको पानीलाई फिल्टर गरी बजारमा पठाउने प्रवृत्ति दीर्घकालीन रूपमा हानिकारक रहेको भन्दै यसको अन्त्य गर्नुपर्नेमा जिल्ला होटल व्यवसायी सङ्घ, काठमाडौंका अध्यक्ष सुरेश बरालले जोड दिनुभएको छ।
जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौं र काठमाडौँ पानी उद्योग संघबीच आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बरालले “नेचुरल मूलको पानीलाई नै प्राथमिकता दिई वितरण गर्नुपर्छ,” भन्दै बजारमा पाइने निम्न गुणस्तरका बोतल र जारको प्रयोगमाथि पनि चिन्ता व्यक्त गर्नुभयो।
“जमिनमुनिको पानीको अत्यधिक दोहनले दीर्घकालीन असर पार्छ,” अध्यक्ष बरालले भन्नुभयो, “आगामी दिनमा होटल तथा पर्यटन क्षेत्रले प्रयोग गर्ने पानी उच्च गुणस्तरको, प्रिमियम स्तरको जार र बोतलमार्फत मात्र आपूर्ति गर्नुपर्छ।”
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पानीको शुद्धता, गुणस्तर र प्रकारसम्बन्धी विषयमा विस्तृत छलफल गरेका थिए।
कार्यक्रममा नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम लिम्बु चेम्जोङ र काठमाडौँ पानी उद्योग संघका अध्यक्ष गोकुल थापाले पानीको शुद्धता र सार्वजनिक स्वास्थ्यप्रति उत्तरदायी भई व्यावसायिक हितका लागि होटल व्यवसायीहरूसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।
उहाँहरूले उत्पादन तथा वितरण प्रणालीमा सुधार ल्याउँदै उपभोक्तालाई सुरक्षित, गुणस्तरीय र वातावरणमैत्री पानी आपूर्ति गर्न उद्योग क्षेत्र गम्भीर रहेको उल्लेख गर्नुभयो।
















