काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नु सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिँदै उनले युवालाई देशमै रोक्न र वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पूँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
उनले सरकारले विक्रम संवत् २०८२ देखि २०९२ सम्मलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा घोषणा गरेको जानकारी गराउँदै नेपालको विकासका प्रमुख क्षेत्रहरू— कृषि, उद्योग, पर्यटन, ऊर्जा तथा पूर्वाधार निर्माणमा भइरहेको सरकारी तथा निजी लगानीले स्वदेशमै रोजगारी सिर्जनाको व्यापक सम्भावना देखिएको बताए। प्रधानमन्त्रीले रोजगार कार्यक्रमलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको रूपमा पुनः संरचना गर्ने तयारी भइरहेको बताए।
उनका अनुसार हाल कोशी र मधेश प्रदेशका २० पालिकामा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गरी रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको छ। त्यससँगै नयाँ पुस्ता, विशेषतः जेन जी युवाहरूलाई लक्षित गर्दै स्टार्टअप र नवप्रवर्तन कार्यक्रममार्फत उद्यमशीलता विकासका पहलहरू अघि बढाइएका छन्।
बैठकमा सांसदहरूले उठाएको भ्रष्टाचारसम्बन्धी जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार गर्दिनँ र गर्न पनि नदिन स्पष्ट अठोटमा रहेको बताए। गम्भीर प्रकृतिका भ्रष्टाचारका घटनामा तथ्यका आधारमा कुनै प्रकारको सम्झौता नहुने धारणा राख्दै उनले केवल आरोपका भरमा भने कारबाही नहुने बताए।














