काठमाडौं, ३ साउन/नेपाल भाषाका साहित्यकार जीवनराम श्रेष्ठद्वारा रचित ‘राजमति’ नाटक र मथुरा साय्मीको कथा सङ्ग्रह ‘चिपनिप’को शनिबार काठमाडौंमा औपचारिक विमोचन गरिएको छ। नेपाल भाषा तथा संस्कृति सम्वर्द्धनमा केन्द्रित यी दुई कृतिले समकालीन साहित्यिक क्षेत्रलाई थप समृद्ध बनाउने विश्वास आयोजकहरूको छ।
कार्यक्रममा लेखक जीवनराम श्रेष्ठले राजमति नाटक कोराना महामारीका दिनहरूमा ऐतिहासिक प्रेरणाबाट रचना गरिएको जानकारी दिँदै, उक्त नाटकमा साँखु क्षेत्रको सांस्कृतिक परिवेश र राजमतिको पात्रलाई जीवन्त रूपमा चित्रण गरिएको बताए। ‘राजमति साँखुकी चेली हुन्, त्यसैले नाटकमा त्यही परिवेशलाई सजीव ढंगले उतारिएको छ,’ श्रेष्ठले भने। साथै उनले मथुरा साय्मीको ‘चिपनिप’ कथालाई प्रभावरहित नयाँ शैलीमा प्रस्तुत गरिएको पनि बताए।
विमोचन समारोहमा संस्कृतिविद् चुन्दा बज्राचार्यले नेपाल भाषाको चर्चित लोकगीत ‘राजमति’को ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै, लेखक श्रेष्ठद्वारा नाटकमा राजमतिलाई एक सशक्त महिला पात्रको रूपमा प्रस्तुत गरिएकोमा प्रशंसा गरिन्। उनले “राजमति गीत, चलचित्र र नाटकलाई तुलनात्मक रूपमा हेरेर पाठकले राय दिनुपर्छ” भन्ने आग्रहसमेत गरिन्।
भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले ‘राजमति’ जस्तो लोकप्रेमयुक्त गीत अन्य कुनै भाषामा नभएको उल्लेख गर्दै, जीवन श्रेष्ठद्वारा त्यसको नाटकमा रूपान्तरण गरिएकोमा बधाई ज्ञापन गरे। “दुई सय वर्षदेखि जनजनको हृदयमा रहेको यो गीतको नाटक रूपमा पुनर्जीवन हुनु नेवार समुदायका लागि गौरवको कुरा हो,” उनले भने।
कार्यक्रममा नेपाली कांग्रेसका नेता लोकेश ढकालले साहित्य र राजनीति छुट्टै पाटो भए पनि समाजको यथार्थ चित्रण गर्ने मूल सार साहित्यमा निहित हुने धारणा व्यक्त गरे। “राजनीति शौचालय हो भने साहित्य भोजनालय,” केदारमान व्यथितको भनाइ उद्धृत गर्दै ढकालले साहित्यले समाजको चरित्र उजागर गर्नुपर्ने बताए। उनले लेखक श्रेष्ठलाई नेपाली भाषामा अनुवाद प्रकाशनमा पनि जोड दिन आग्रह गरे।
राजभाइ मानन्धरले नारी शक्तिको महत्त्व स्मरण गराउँदै, राजमति पात्रमार्फत समाज र राष्ट्र हाँक्न सक्ने स्त्रीशक्तिको प्रतिबिम्ब देखिएको बताए। उनले जीवन श्रेष्ठलाई थप सिर्जनशीलताका लागि शुभकामना दिए।
शंखरापुर नगरपालिकाकी उपमेयर समिता श्रेष्ठले “नेपालभाषा जोगाउन सक्यौँ भनेमात्र हाम्रो अस्तित्व सुरक्षित हुन्छ” भन्दै साहित्यिक योगदानलाई सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्नेमा जोड दिइन्। साँखु नगरपालिकाका प्रमुख रमेश नापितले महाकवि गिरिजाप्रसाद जोशीको परिकल्पना अनुसार साँखुलाई समृद्ध बनाउने प्रयासमा लागेका लेखक श्रेष्ठको प्रशंसा गरे।
प्रमुख अतिथि तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले कृति विमोचनलाई साहित्य र संस्कृति क्षेत्रको एक महत्त्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गरे। उनले लेखकको आगामी साहित्यिक यात्रामा सफलताको शुभकामना दिँदै, संविधानमा ‘राजा आउने’ भन्ने कुरा नरहेको स्पष्ट पारे। “यदि कोही कांग्रेसको सदस्य भएर पनि राजतन्त्रको वकालत गर्छ भने उसले पार्टी सदस्यता छाड्नुपर्छ,” उनले भने।
विमोचन कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, शंखरापुर नगरपालिकाका पूर्व मेयर सुवर्ण श्रेष्ठ, इतिहासविद् प्रकाशमान सक्वः, साहित्यकार विश्वेश्वरदास श्रेष्ठ, नेपालभाषा एकेडेमीका सदस्य राजेन्द्रकुमार ‘पुता’, कविरमान शर्मा फुयाल, गोविन्दबहादुर श्रेष्ठ, मञ्जु खड्का, एल्मी श्रेष्ठ र मिजेन्द्रकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
















