काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रभित्र अब खादा, माला लगायत कुनै पनि संस्थाको पहिचान झल्काउने पोसाक तथा सामग्री प्रयोग गर्न नपाइने भएको छ।
विमानस्थल अध्यागमन कार्यालयले हालै जारी गरेको सूचनामा अध्यागमन कक्ष सुरक्षा दृष्टिले अति संवेदनशील क्षेत्र भएकाले यस्ता पहिरन र सामग्री निषेध गरिएको उल्लेख छ। नयाँ नियमअनुसार सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीका प्रतिनिधिहरूले खादा, माला, ब्याच, टोपी वा कुनै संगठनको नाम, लोगो वा परिचय झल्काउने अन्य वस्तु प्रयोग गर्न नपाउनेछन्।

अध्यागमन काउन्टरमा यस्तो पहिरन वा सजावटी वस्तु प्रयोग गरिएमा प्रक्रियामा अनावश्यक ढिलाइ हुनुका साथै सुरक्षा चुनौती सिर्जना हुन सक्ने भएकाले यस्तो कदम चालिएको जनाइएको छ।
“कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान नपरोस् भन्ने उद्देश्यले सबैका लागि समान मापदण्ड लागू गर्नुपर्ने आवश्यकता देखिएको छ,” सूचनामा भनिएको छ, “साथै सुरक्षालाई असर गर्ने सम्भावनालाई ध्यानमा राखी यस्ता वस्तुमा पूर्ण प्रतिबन्ध लगाइएको हो।”
नियमको पालना नगर्ने व्यक्तिहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत कार्यालयले दिएको छ। यात्रु तथा सरोकारवालालाई अध्यागमन प्रक्रियामा सहजता कायम राख्न यसतर्फ सहयोग गर्न अनुरोध गरिएको छ।
















