ललितपुर/नेपालभाषाको संरक्षण र प्रवर्द्धनलाई लक्षित गर्दै नेपालभाषा सहजकर्ता पुचः ललितपुरले अष्टमाया स्मृति प्रतिस्थानको सहयोगार्थ नेपालभाषा पाठ वाचन प्रतियोगिता आयोजना गरेको छ। अशोक पार्टी प्यालेस, बाल्खुमा सम्पन्न उक्त कार्यक्रममा ३६ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा मिननाथ आदर्श शिक्षा सदनका नीकिता बोलाखेले पहिलो स्थान हासिल गर्दै नगद ३,५०० रुपैयाँ प्राप्त गरिन्। दोस्रो स्थानमा ललित विकास माविकी पिंकी कुमारी रामले नगद ३,००० रुपैयाँ र तेस्रो स्थानमा कृषि उदय माविकी कविता मगरले २,५०० रुपैयाँ प्राप्त गरे।
त्यस्तै, उत्कृष्ट प्रस्तुति गरेका सात जना विद्यार्थीहरू—गोरिवन्द भट्ट (टिका विद्याश्रम मावि), सकृय लामा (संचतेना मावि), खुसि कुमारी चौधरी (श्रमिक शान्ति मावि), रोजिना सुनार (जल्पा मावि), इशिता विक (पद्य प्रकाश मावि), रोजी लामा (जनउदय मावि) र पार्वती तामाङ (बालकुमारी मावि)—लाई जनही नगद २,००० रुपैयाँले सम्मान गरियो।
कार्यक्रमका निर्णायकमध्ये रहेका भाषाविद् विष्णु चित्रकारले गणतन्त्रपछि पनि विद्यालयहरूमा मातृभाषाको व्यवस्थित अध्यापन हुन नसकेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, अब पुनः संघर्षमार्फत मातृभाषालाई अनिवार्य गराउनुपर्ने आवश्यकता औँल्याए।
नेपाल प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष अगिब बनेपालीले समेत निर्णायकको भूमिका निर्वाह गरेका कार्यक्रममा अष्टमाया फाउण्डेशनका प्रमुख बाबुराजा महर्जनले ललितपुर मात्र नभई अन्य जिल्लाहरूमा पनि नेपालभाषा पढाउन सकिनेमा विश्वास व्यक्त गरे। उनले बालबालिकामा मातृभाषा बोल्ने बानी हराउँदै गएको अवस्थामा शिक्षक र अभिभावकको निरन्तर प्रयास आवश्यक रहेको धारणा राखे।
नेवाः देय् दबूका सरलगोपाल महर्जनले नेपालभाषा सिकाउने अवसरलाई सरकारी विद्यालयमा मात्रै सीमित नराखी निजी विद्यालयसम्म विस्तार गर्न सके मात्र भाषा, कला र संस्कृतिको दीर्घकालीन संरक्षण सम्भव हुने बताए।
कार्यक्रममा सहभागी प्रा. तुल्सीलाल सिंहले ललितपुर महानगरपालिकामा १०१ जना नेपालभाषा शिक्षक कार्यरत रहेको उल्लेख गर्दै विद्यार्थीको बौद्धिक विकासका लागि अतिरिक्त क्रियाकलापको महत्वलाई सराहना गरे।
प्रमुख अतिथि ललितपुर महानगरपालिकाका सामाजिक कल्याण संयोजक तथा नगर प्रवक्ता राजु महर्जनले महानगरका कक्षा चारका लागि नेपालभाषा पाठ्यक्रम तयार भइसकेको र १५ सदस्यीय अनुगमन समिति गठन प्रक्रिया अगाडि बढिरहेको जानकारी गराए।
नेपालभाषा केन्द्रीय विभागका उप–प्रा. जीवनकुमार महर्जन, क्लासिक जेमका कृष्णलाल महर्जन, आरबी डाइमण्डका सरिता महर्जन, काठमाडौं नेपालभाषा स्यनामि पुचःका विद्या चित्रकार लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम पवित्रकुमार महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो।
















