काठमाडौँ । विज्ञानतर्फ प्लस टु अध्ययन गर्न चाहने विद्यार्थीका लागि ग्लोबल स्कूल अफ साइन्स (GSS) ले २५ जना मेधावी विद्यार्थीलाई लक्षित गर्दै पूर्ण छात्रवृत्तिको अवसर प्रदान गर्ने भएको छ।
‘जिएसएस मेरिट टप–२५’ शीर्षकमा सार्वजनिक गरिएको यो योजनामार्फत हालैको एसईई परीक्षा दिएका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउने छन्। कलेजका अनुसार, विदेशिने प्रवृत्तिमा कमी ल्याउँदै स्वदेशमै डाक्टर, इन्जिनियर, वैज्ञानिकजस्ता दक्ष जनशक्ति उत्पादन गर्नु मुख्य उद्देश्य हो।
छात्रवृत्तिका लागि लिइने ६० अङ्कको लिखित परीक्षा कक्षा १० मा आधारित हुनेछ भने त्यहाँबाट छनोटमा परेका विद्यार्थीले अन्तर्वार्ता (१० अङ्क) मा भाग लिनेछन्। साथमा, कक्षा १० को जीपीएलाई ३० अङ्कको मान्यता दिइनेछ।
छात्रवृत्तिको लागि कुल १०० अङ्कको मूल्याङ्कनमा उत्कृष्ट २५ विद्यार्थी छनोट गरिनेछ। एसईई नतिजा सार्वजनिक भएको पाँचौँ दिन परीक्षा लिइने र त्यही दिन साँझ अन्तिम नतिजा सार्वजनिक गरिने जनाइएको छ।
विद्यार्थीलाई तयारीमा सहजता होस् भनेर कलेजले नमुना प्रश्नपत्रको पुस्तक समेत निःशुल्क उपलब्ध गराउने बताएको छ। परीक्षा तालिका सम्बन्धी सम्पूर्ण जानकारी विद्यार्थीको इमेल वा फोनमार्फत दिइने कलेज प्रशासनको भनाइ छ।
गुणस्तरीय शिक्षामा प्रतिबद्ध रहेको कलेजले छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई शतप्रतिशत पास गराउने र उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गराउने लक्ष्य लिएको छ।

















