काठमाडौँ। पत्रकार तथा लेखक लक्ष्मण वियोगीद्वारा लेखिएको कथासङ्ग्रह ‘सत्यम्’ एक विशेष कार्यक्रमका बीच शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिएको छ। साहित्य, पत्रकारिता र समालोचनाको संगम बनेको सो अवसरमा विविध क्षेत्रका विद्वानहरूको उपस्थिति थियो।
कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचक डा. अशोक थापा, अनुपमा रेग्मी तथा साहित्य अकादमी पुरस्कार विजेता समालोचक ज्ञानबहादुर क्षेत्रीले लेखकसँगै कृतिको संयुक्त लोकार्पण गरे।
कार्यक्रममा बोल्दै प्रा.डा. श्रेष्ठले वियोगीको कथाकृति नेपाली साहित्यमा एक नवीन थप भएको उल्लेख गर्दै यसले पाठकहरूलाई नयाँ अनुभूति दिने विश्वास व्यक्त गरे। त्यस्तै प्रा.डा. भट्टराईले ‘सत्यम्’ लाई प्रखर कथासङ्ग्रहका रूपमा व्याख्या गर्दै यसले समकालीन समाजलाई सशक्त ढङ्गले प्रतिबिम्बित गरेको बताए।
समालोचक डा. थापाले पत्रकारिताबाट आएका लेखक वियोगीले समाचारमा व्यक्त गर्न नसकिएका यथार्थहरूलाई कथा मार्फत प्रभावकारी ढङ्गले प्रस्तुत गरेको उल्लेख गरे। सामाजिक विखण्डन, वर्गीय पीडा, वैदेशिक रोजगारीका प्रभावजस्ता समसामयिक विषयहरू कथाकृतिको मूल मर्म भएको विश्लेषण गरे।
अन्य समालोचक अनुपमा रेग्मीले कथाकृतिमा माओवादी द्वन्द्व, स्थानीय भाषाको प्रयोग, पश्चिमेली लोक-संस्कृति, प्रेम र पर्यावरणजस्ता विविध आयामहरूको सशक्त प्रस्तुति पाइने बताइन्। उनले कथाहरूमा थारु, गुरुङ भाषिक प्रयोग र रोधी संस्कृति जस्ता तत्वहरूले कथाहरूलाई जीवन्त बनाएको धारणा राखिन्।
साहित्य अकादमी पुरस्कार प्राप्त समालोचक ज्ञानबहादुर क्षेत्रीले लेखक वियोगीलाई सफल गीतकारको रूपमा स्थापित ‘हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले…’ गीतको स्रष्टा भएको प्रसङ्ग उठाउँदै, अहिले कथा विधामा पनि उनले आफ्नो बहुआयामिक प्रतिभा उजागर गरेको बताए।
कथाकार वियोगीले आफ्नो पहिलो कथा कृति आमाबुबाको स्मृतिमा समर्पित रहेको बताउँदै, साहित्यिक यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गरे। “मैले सत्यम्लाई होइन, सत्यम्ले मलाई चिनाइदिए पुग्छ,” भन्दै उनी भावुक बनेका थिए।
‘सत्यम्’ कथासङ्ग्रहमा गण्डकी क्षेत्र विशेष गरी स्याङ्जा जिल्लाको आञ्चलिक परिवेश, स्थानीय भाषा, जनयुद्धपछिको सामाजिक यथार्थ, पर्यावरणीय चेतना र समाजको अन्तर्विरोधलाई विषयवस्तु बनाइएको छ। यथार्थवादी धारका १५ कथाहरू समावेश गरिएका यस कृतिले मध्यपश्चिमदेखि पूर्वसम्मको सामाजिक चित्रण समेटेको छ।
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय वियोगी नेपाल समाचारपत्र, नागरिक दैनिक लगायतका मिडियामा कार्यरत रहीसकेका छन्। हाल उनी ‘ऊर्जा खबर’ अनलाइन र अर्धवार्षिक पत्रिकाका सम्पादक हुन्। कथा, निबन्ध, कविता र गीत विधामा समेत सक्रिय वियोगीका एक दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन्।
उनको निबन्ध ‘कोरोनाको कर्खा’ ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा प्रथम भएको थियो भने ‘टाउको’ शीर्षकको कथा ‘डिसहोम-बाह्रखरी खुला कथा प्रतियोगिता’मा दोस्रो स्थानमा परेको थियो, जुन कथा ‘सत्यम्’ मा समावेश गरिएको छ।
पेज टर्नर प्रालिद्वारा प्रकाशित यो कृतिको मूल्य ४५५ रुपैयाँ राखिएको छ। प्रकाशनले यसअघि ३० भन्दा बढी साहित्यिक कृति प्रकाशन गरिसकेको छ।
















