धिरेन्द्र तिवारी/
वीरगञ्ज, २२ जेठ/
पर्सा, बारा, रौतहटसहित आसपासका क्षेत्रका माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरू र तिनका अभिभावकलाई लक्षित गर्दै वीरगञ्जमा ‘भविष्य मेला २०२५’ आयोजना हुने भएको छ। शिक्षा, करियर मार्गदर्शन र सामाजिक सशक्तीकरणका विविध पक्ष समेटिएको एकदिने मेला जेठ ३० गते (शुक्रवार) बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रम निर्देशक नवीन कार्कीले जानकारी दिए।
उनका अनुसार उक्त मेला माध्यमिक तह पार गरेका विद्यार्थीहरूलाई भविष्य निर्माणका लागि आवश्यक ज्ञान, सूचना र स्रोतसम्म पहुँच दिलाउने उद्देश्यले आयोजना गर्न लागिएको हो। “भविष्य मेला केवल शैक्षिक प्रदर्शनी मात्र होइन, यो विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक र व्यक्तिगत यात्रा सुरु गराउने परिवर्तनकारी अभियान हो,” कार्कीले बताए।
मेला आयोजकका अनुसार, यो कार्यक्रममा पर्सा, बारा, रौतहटका शहरी तथा ग्रामीण क्षेत्रका तीन हजारभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहनेछ। उनीहरूलाई विज्ञान, व्यवस्थापन, कानून, पत्रकारिता, स्वास्थ्य र प्रविधि लगायतका विविध शैक्षिक धाराहरूका सम्भावनाबारे अवगत गराइनेछ।
“धेरै विद्यार्थी र अभिभावक शैक्षिक अवसर, छात्रवृत्ति र करियर सम्भावनाबारे स्पष्ट जानकारीबाट वञ्चित छन्,” कार्कीले भने, “भविष्य मेलाले यस्तै सूचनाको खाडल पूर्ति गर्दै विद्यार्थीलाई भविष्य निर्माणमा सजग र सक्षम बनाउनेछ।”
शैक्षिक संस्थाहरूका लागि प्रचार र विद्यार्थी भर्नाको अवसर
मेलामा देशभरका प्रतिष्ठित शैक्षिक संस्थाहरूले आफ्ना शैक्षिक कार्यक्रम, पूर्वाधार, उद्योग साझेदारी, अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रम लगायतका विशेषता प्रस्तुत गर्न सक्नेछन्। अभिभावक र विद्यार्थीहरूसँग प्रत्यक्ष संवादका माध्यमबाट संस्थाहरूले आफ्नो विश्वसनीयता र शैक्षिक छवि स्थापित गर्न सक्ने विश्वास आयोजकको छ।
“करियर कार्यशाला, सफल पूर्वविद्यार्थीका प्रेरणादायी अनुभव र प्रत्यक्ष प्रदर्शनमार्फत संस्थाहरूले आफ्नो सशक्त उपस्थिति देखाउन पाउनेछन्,” कार्कीले भने।
छात्रवृत्ति, स्टेशनरी किट र डिजिटल ग्याजेट वितरण
मेलामा सहभागितालाई थप प्रभावकारी बनाउन मेरिट र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था गरिएको छ। साथै, विद्यार्थीहरूलाई स्टेशनरी किट, शैक्षिक सामग्री र युएसबी ड्राइभ, इयरबडजस्ता डिजिटल उपकरण वितरण गरिनेछ।
शैक्षिक संस्थाहरूले शुल्कमा छुट, कोर्स सामग्रीमा विशेष सुविधा तथा अतिरिक्त गतिविधिमा आकर्षक प्रस्तावमार्फत आफ्ना कार्यक्रम प्रस्तुत गर्नेछन्। बैंकहरूसँगको साझेदारीमा विद्यार्थीका लागि निःशुल्क बैंक खाता तथा डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ, जसले वित्तीय साक्षरता र दीर्घकालीन आर्थिक योजना बनाउने चेतना विस्तार गर्ने अपेक्षा गरिएको छ।
सामाजिक तथा आर्थिक रूपान्तरणतर्फको यात्रा
कार्कीले भविष्य मेलालाई केवल शैक्षिक गतिविधिका रूपमा मात्र नभई सामाजिक र आर्थिक रूपान्तरणतर्फको यात्रा पनि भनेका छन्। “स्थानीय विद्यालय, समुदाय, वित्तीय संस्था र व्यवसायिक क्षेत्रको सहकार्यले यो मेला वीरगञ्जको शैक्षिक तथा आर्थिक विकासको एउटा महत्वपूर्ण पाइला बन्नेछ,” उनले बताए।
मेलाले ग्रामीण तथा विपन्न समुदायका विद्यार्थीहरूलाई शैक्षिक पहुँचको सुनिश्चितता दिलाउँदै उनीहरूलाई मुख्यधारमा ल्याउने प्रयास गर्नेछ।
“यो मेला वीरगञ्ज र आसपासका क्षेत्रका युवाहरूको भविष्य सुनिश्चित गर्ने साझा अभियान हो। यसको प्रभाव शैक्षिक चेतना मात्र होइन, समग्र सामाजिक रूपान्तरणमा पनि देखिनेछ,” कार्कीले जोड दिए।
मेलाको समापनसँगै वीरगञ्जलाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने दिशामा उल्लेखनीय योगदान पुग्ने आयोजकहरूको विश्वास छ।
















