काठमाडौं/भिजिट भिसा प्रकरणमा आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध उठेका प्रश्नको जवाफ दिन संसदमा बोल्ने अवसर उपलब्ध गराउन आग्रह गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी हुँदै मन्त्री लेखकले यस्तो आग्रह गरेका हुन्।
बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नहरूप्रति इङ्गित गर्दै गृहमन्त्रीले भने, “जिज्ञासा यो समितिमा सीमित छैन, संसदका अन्य सदस्यहरूसमेत चासो राखेका छन्। त्यसैले म प्रार्थना गर्छु— मलाई संसदको बैठकमा बोल्न दिइयोस्। उठेका सबै प्रश्नको जवाफ म दिन तयार छु।”
हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेपछि सो विषयले राजनीतिक रूपमा तातिएको छ। भट्टराई पक्राउमा परेपछि गृहमन्त्री लेखकको नाम पनि सो प्रकरणसँग जोडिएको छ।
प्रतिपक्षी दलहरूले मन्त्री लेखकमाथि संलग्नताको आशंका व्यक्त गर्दै उनको राजीनामाको माग गरिरहेका छन्। यसै विषयलाई लिएर संसदको बैठक पटकपटक अवरुद्ध हुँदै आएको छ।
गृहमन्त्री लेखकले आफूविरुद्धको आरोपको तथ्यगत खण्डन गर्न तयार रहेको उल्लेख गर्दै संसदको मर्यादा र प्रक्रियामा बाधा नपुर्याई आफूलाई बोल्न दिने वातावरण बनाइदिन आग्रह गरेका हुन्।















