काठमाडौं / जबरजस्ती करणीसम्बन्धी फरक–फरक घटनामा संलग्न रहेको आशंकामा दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको भनाइअनुसार बर्दियाको गुलरिया नगरपालिका–२ का २० वर्षीय चन्द्र बहादुर सुनारमाथि १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ। पीडितका आफन्तबाट प्राप्त उजुरीका आधारमा खैरापुर प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो।
त्यसैगरी, कैलालीको टीकापुर नगरपालिका–१, वनगाउँ दक्षिण पुरूवाका २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई पनि जबरजस्ती करणीको आरोपमा सोमबार बिहान नियन्त्रणमा लिइएको छ। उनीमाथि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको हो। उजुरीपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार दुवै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।















