काठमाडौं, जेठ १९/
दरबार हत्याकाण्डको २७औं स्मृति दिवसको अवसरमा राजावादी समूहले आजको लागि तोकिएको आन्दोलन स्थगित गर्दै शोक मनाउने घोषणा गरेका छन्। संयुक्त जनआन्दोलन समितिले एक विज्ञप्ति जारी गर्दै, शोक दिवसको सन्दर्भमा आन्दोलन स्थगित गरिएको जानकारी गराएको हो।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “२०५८ साल जेठ १९ गते राजदरबारमा भएको वीभत्स हत्याकाण्डले समस्त नेपाली जनताको मनमा गहिरो पीडा बनाएको स्मृतिमा आज हामी आन्दोलन नगरी मौन श्रद्धाञ्जली अर्पण गर्नेछौं।”
विज्ञप्तिमा उल्लेख अनुसार, स्मृतिको रुपमा आज साँझ ६ बजे काठमाडौंको कमलादी गणेशस्थानमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ। आयोजकले सबै समर्थक तथा शुभेच्छुकलाई उक्त कार्यक्रममा सहभागी भई दिवंगत राजपरिवारप्रति श्रद्धा व्यक्त गर्न आग्रह गरेका छन्।
२०५८ सालको जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका थुप्रै सदस्यहरूको ज्यान गएको थियो। घटनाले देश नै स्तब्ध बनाएको थियो र आज पनि उक्त दिन एक शोकप्रद स्मृति बनिरहेको छ।
यसअघि जेठ १५ देखि निरन्तर आन्दोलनमा रहेका राजावादी समूहले मुलुकमा राजसंस्था पुनःस्थापनाको माग गर्दै विभिन्न प्रदर्शन गर्दै आएका थिए। तर आजको दिनलाई “राष्ट्रिय शोक दिवस”को रूपमा मनाउने निर्णय गरिएको जनाइएको छ।


















