काठमाडौं, १९ जेठ/ सार्वजनिक यातायात सेवा आंशिक रूपमा अवरुद्ध भएपछि नेपाल प्रहरीले यात्रुहरुलाई सहज आवागमन सुनिश्चित गर्न काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सुरु गरेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालबाट आज बिहानदेखि दुईवटा फरक रूटमा बस सञ्चालन गरिएको हो। उक्त बस सेवा काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य गन्तव्यहरू समेट्नेगरी सञ्चालनमा ल्याइएको छ।
पहिलो रूट अनुसार बस नक्सालबाट बालुवाटार, महाराजगन्ज, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक हुँदै जयनेपाल हलसम्म सञ्चालन हुनेछ।
दोस्रो रूटमा नक्सालबाट रातोपुल, गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काटेश्वर, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ हुँदै पुनः नक्साल फिर्ता हुने व्यवस्था गरिएको छ।
यात्रुहरुलाई राहत दिनका लागि उठाइएको यो कदमका साथै प्रहरीले राइड सेयरिङ सेवा दिने कम्पनीहरूका चालकहरुलाई यात्रुहरूसँग अनावश्यक भाडा असुल नगर्न कडाइका साथ निर्देशन दिएको छ।
हालै यात्रुहरूमाथि अनधिकृत रूपमा बढी भाडा असुल गरिएको तथा अफलाइन सवारी सेवा प्रवाह गरिएको गुनासो प्रहरीकहाँ पुगेपछि यो निर्देशन जारी गरिएको हो।
प्रहरीले यस्ता गतिविधि देखा परेमा सर्वसाधारणलाई नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन अनुरोध गरेको छ।