२०८२ असार ७ गते, शनिबार ०७:०२

सशस्त्र प्रहरीका डीआईजी ठाडा मगर एआईजीमा सिफारिस, अब आईजीपी बन्ने ढोका खुल्यो

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका डीआईजी गणेशबहादुर ठाडा मगरलाई एआईजी (अतिरिक्त महानिरीक्षक) पदमा बढुवा सिफारिस गरिएको छ। बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिले ठाडालाई योग्य ठहर गर्दै एआईजी पदका लागि सिफारिस गरेको हो।

वैशाख २ गते एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएसँगै रिक्त भएको पदमा ठाडाको सिफारिस भएको हो। रिक्त पदपूर्तिका लागि वैशाख १४ मा सूचना जारी गर्दै सात दिने समयावधि दिइएको थियो, जसअनुसार ८ जना डीआईजीहरूले दरखास्त दिएका थिए।

बढुवा प्रतिस्पर्धामा सहभागी अन्य प्रतिस्पर्धीहरू—कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह, प्रदीपकुमार पाल, सुरेश श्रेष्ठ र अन्जनी कुमार पोखरेललाई पछि पार्दै ठाडा एआईजीका रूपमा अगाडि बढ्न सफल भएका हुन्।

अब्बल अफिसरको परिचय

इन्स्पेक्टर तहदेखि एसएसपीसम्म निरन्तर मेरिटमा अगाडि रहँदै आएका ठाडालाई डीआईजीमा बढुवाको क्रममा पछाडि पारिएको थियो। तर, प्रशिक्षण, कार्यक्षमता र व्यावसायिकताको आधारमा उनी सधैँ अब्बल अफिसरका रूपमा चिनिँदै आएका थिए। ठाडा सशस्त्र प्रहरी बल स्थापनापछि भर्ना गरिएको पहिलो समूह ‘सिसम–१’ का सदस्य हुन्, जसबाट डीआईजी सुरेश श्रेष्ठ र अन्जनी पोखरेलले पनि एआईजी पदका लागि आवेदन दिएका थिए।

आईजीपी बन्ने बाटो प्रस्ट

ठाडा मगरको एआईजीमा बढुवा सिफारिससँगै अब उनको आईजीपी बन्ने सम्भावना बलियो बनेको छ। हालको कार्यसम्पादन, वरिष्ठता, अनुभव र प्रतिष्ठा हेर्दा उनलाई आगामी सशस्त्र प्रहरी प्रमुखका रूपमा अगाडि सार्ने वातावरण बनिसकेको छ। यदि हालको गति र राजनीतिक सन्तुलन यथावत् रह्यो भने ठाडा मगरलाई भविष्यको आईजीपीको रूपमा अघि सारिने लगभग निश्चित देखिन्छ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM