काठमाडौँ/बम विष्फोटपछि व्यक्तिहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको छ।
२०७६ असोज १९ मा पक्राउ परेका आलममाथि २०६४ चैत २७ गतेको राति संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरस्थित एक इँटा भट्टामा बम बनाउने क्रममा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरिएको अभियोग थियो। यस घटनालाई ‘राजपुर बम काण्ड’ को नाम दिइएको थियो।
घटनालगत्तै प्रहरीले घटनास्थलमा बम विष्फोट नभएको भन्दै प्रारम्भिक मुचुल्का तयार पारेको थियो। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय तथा पुनरावेदन सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने राय दिएका थिए। सोही आधारमा २०६५ असार ३० मा तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए।
तर, उक्त घटनामा मृत्यु भएका भनिएका ओसी अख्तरकी आमा रुक्सना खातुनको २०६७ माघ ८ मा गोली प्रहार गरी हत्या भएपछि विषय पुनः चासोमा आएको थियो। घटनापछि संलग्न भनिएका केही व्यक्तिहरूको बयान, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन, तथा अन्य दस्तावेजका आधारमा १२ वर्षपछि आलमविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। तर, आलमले त्यसविरुद्ध उच्च अदालत वीरगञ्जमा पुनरावेदन दिएका थिए। बहसपछि अदालतले अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै उनलाई निर्दोष ठहर गरेको हो।
यस घटनाले लामो समय राजनीतिक तथा न्यायिक वृत्तमा चासोको विषय बनाएको थियो। आलममाथि आरोप थियो कि उनले घटनाको गोप्यता कायम राख्न राज्यका सुरक्षा निकायसँग मिलेर शवहरू बेपत्ता पार्न भूमिका खेलेका थिए। तर अदालतले उपलब्ध प्रमाण, साक्षी तथा दस्तावेजका आधारमा उनलाई सफाइ दिएको हो।














