काठमाडौं, १४ जेठ/
भिटिज भिसासम्बन्धी विवादमा विभिन्न आरोप लागिरहँदा गृहमन्त्री रमेश लेखकले सार्वजनिक रूपमा आफ्नो पक्ष स्पष्ट पार्ने तयारी गरेका छन्। स्रोतका अनुसार मन्त्री लेखक संसद् बैठकमा प्रत्यक्ष रूपमा सम्बोधन गर्न चाहन्छन्, तर प्रमुख विपक्षी दलको निरन्तर अवरोधका कारण वैकल्पिक रूपमा पत्रकार सम्मेलन आयोजना गर्ने सम्भावना पनि रहेको छ।
गृहमन्त्रीले यस विषयमा बोल्न संसद्मै समय मागिसकेका छन्। तर प्रतिपक्षीले उनीमाथि दबाब सिर्जना गर्दै राजीनाको मागसहित सदन चल्न नदिएपछि विकल्पको खोजी भइरहेको छ।
मन्त्री निकट एक व्यक्तिले बताएअनुसार, “संसद् अवरोध हटेको खण्डमा मन्त्रीज्यू त्यहीँबाट धारणा राख्ने सोचमा हुनुहुन्छ, तर त्यसो नभएमा पत्रकार सम्मेलनमार्फत आफ्नो पक्ष स्पष्ट पार्ने योजना तयार छ।”
गृह मन्त्रालयले यसअघि पनि यस विषयमा केही जानकारी सार्वजनिक गरे पनि मन्त्री स्वयम् बोल्नुपर्ने आवश्यक महसुस भएपछि यो तयारी गरिएको बुझिएको छ।
















