काठमाडौं/बुधबार दिउँसो १ बजेबाट सुरु भएको प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोधका कारण फेरि आधा घण्टाका लागि स्थगित गरिएको छ।
बैठक अघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरी संसद् सञ्चालनको प्रयास गरेका थिए। छलफलमा बैठक चल्न दिने समझदारी भए पनि बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध जनाएपछि बैठक अगाडि बढ्न सकेन।
गृहमन्त्री रमेश लेखकबारे सत्तापक्ष र विपक्षबीच जारी मतभेदका कारण मंगलबार स्थगित भएको बैठक बुधबार पुनः बसेको थियो। सभामुखले गृहमन्त्रीलाई सम्बोधनको समय दिनुपर्ने भन्दै बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरे पनि विपक्षी सांसदहरूले निरन्तर अवरोध जारी राखे।
स्थिति सहज नदेखिएपछि सभामुख घिमिरेले बैठकलाई आधा घण्टाका लागि स्थगित गर्दै सहमतिको प्रयास जारी राख्ने संकेत दिएका छन्। हाल संसद् सुचारु गराउने विषयमा राजनीतिक संवादलाई तीव्र बनाउने आवश्यक देखिएको छ।
















