२०८३ बैशाख ५ गते, शनिबार १२:४१

प्रतिनिधिसभा बैठकमा पुनले सोधेः ठूलो माछा को हो ?

काठमाडौं – भिसा घोटालासँग जोडिएको मुद्दामा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठेको छ।

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद वर्षमान पुनले प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री लेखकको पदबाट राजीनामा माग गरेका छन्। उनका अनुसार, भिसा प्रकरणमा गृहमन्त्रीकै सचिवालय संलग्न देखिएको र यस विषयमा निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न मन्त्रीले पदबाट अलग हुनु जरुरी छ।

सांसद पुनले भने, “गृह मन्त्रालयअन्तर्गतका निकायहरू आफैं अनुसन्धानमा संलग्न छन्। जब गृहमन्त्रीकै कार्यालयका व्यक्तिहरूमाथि आरोप लाग्छ, तब स्वच्छ छानबिनका लागि उहाँले जिम्मेवारीबाट पछि हट्नुपर्छ।”

उनले थपे, “गृहमन्त्रीले सरुवा गरेका कर्मचारीहरू नै अहिले मुख्य भूमिकामा छन्। अख्तियारले छापा मारेको छ, स्टिङ अपरेसनसमेत गरिएको छ। सामान्य कर्मचारीहरूलाई समातिए पनि छिट्टै छोडिएको छ। तर, यो प्रक्रियाको मूल पात्र, अर्थात् ‘ठूलो माछा’ को हो भन्ने प्रश्न अझै अनुत्तरित छ।”

पुनले लेखकमाथि कुनै व्यक्तिगत आक्षेप नभएको स्पष्ट पार्दै भने, “हामी उहाँलाई दोषी भन्न खोजिरहेका छैनौं। तर उहाँको भूमिकाका कारण छानबिन निष्पक्ष हुन कठिन हुन्छ। त्यसैले उहाँले मार्ग प्रशस्त गर्नुपर्छ।”

उनले लेखकको विगतमा कानुन, मानवअधिकार र शान्ति प्रक्रियामा रहेको योगदानको पनि स्मरण गर्दै भने, “उहाँले अघिल्लो सत्रमा प्रतिपक्षमा बसेर यस्ता नैतिकताको सवाल उठाउनु भएको थियो। अहिले पनि उहाँले नैतिक जिम्मेवारी लिनुपर्छ।”

पुनको भनाइअनुसार, जबसम्म गम्भीर मुद्दामा निष्पक्ष अनुसन्धानको वातावरण तयार हुँदैन, तबसम्म प्रतिपक्षले संसदको नियमित प्रक्रिया अघि बढ्न दिने अवस्था छैन।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM