वीरगंज/पटक–पटक विवादमा तानिँदै आएको वीरगंजस्थित नेशनल मेडिकल कलेज पुनः एकपटक गम्भीर लापरवाहीको आरोपमा मुछिएको छ। योपटकको घटना यति भयावह छ कि सामान्य नागरिकलाई ‘अक्षय कुमारको फिल्मको सिन’ भन्दा फरक नपर्ने अवस्था आएको छ।
गम्भीर बिरामीको रूपमा मेडिकल कलेज पुर्याइएको व्यक्तिको अवस्था पहिले नै मृत्यु भइसकेको आफन्तजनको भनाइ छ। तर त्यसबेला मेडिकल कलेजका चिकित्सकले “मामला सीरियस छ, तुरुन्त आईसीयूमा राख्नुपर्छ, उपचार सुरु गर्दैछौं” भन्दै मृतकलाई समेत भर्ना गर्न खोजिएको आरोप लागेको छ।
पीडित पक्षसँग दुर्व्यवहार
जब मृतकको परिवारले अवस्था बुझ्न र शव बुझाउन खोजे, उनीहरूले झन् मेडिकल कलेजका केही कर्मचारीबाट गालीगलौज र गुण्डागर्दी शैलीको व्यवहार खेप्नुपरेको गुनासो गरेका छन्। “पहिल्यै मृत्यु भइसकेको व्यक्तिलाई उपचारका नाममा आइसियुमा भर्ना गर्न खोज्नु लुटतन्त्र र धोकाधडी बाहेक केही होइन”, एक पीडित आफन्तले रोष प्रकट गरे।
बारम्बार विवादमा तानिँदै आएको संस्था
यो कुनै एकपटकको घटना होइन। नेशनल मेडिकल कलेजमाथि यसअघि पनि उपचारका नाममा पैसा असुली गर्ने, उपचारमा लापरवाही गर्ने, मेडिकल एथिक्सको उल्लंघन गर्नेजस्ता आरोपहरू लाग्दै आएका छन्। तर पनि सम्बन्धित निकायहरूद्वारा छानबिन र आवश्यक कारबाहीको चाँजो नलाग्नु आश्चर्यजनक छ।
नागरिक समाज र जनप्रतिनिधिहरू मौन
यो सम्पूर्ण घटनाले गम्भीर प्रश्न उठाएको छ—के जनताको ज्यानसँग खेलवाड गर्न पाइन्छ? के ‘मेडिकल माफिया’को सुरक्षा गर्न राज्य नै मौन बस्ने हो? बीरगंजवासी र नागरिक समाज मौन रहने हो भने यस्ता घटना दोहोरिरहने निश्चित छ।
तत्काल छानबिन र कारबाहीको माग
पीडित पक्षले दोषी चिकित्सक र कर्मचारीमाथि कडा कारबाहीको माग गर्दै सार्वजनिक अपिल गरेका छन्। उनीहरूको माग छ—स्वास्थ्य सेवा भन्ने संवेदनशील क्षेत्रमा यस्तो लापरवाही र धोकाधडीलाई सरकारले कानुनी रूपमा गम्भीर अपराध मानी आवश्यक कारबाही अघि बढाओस्।
नेशनल मेडिकल कलेजमा देखिएको यस्ता किसिमको चरम लापरवाही र गैरजिम्मेवार व्यवहारले सम्पूर्ण स्वास्थ्य प्रणालीमाथि नै प्रश्न उठाएको छ। मृतकको आत्माको शान्तिको कामना गर्दै, पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायले तत्काल जिम्मेवारी वहन गर्न आवश्यक छ।
हेर्नुहोस् भिडियो :

















