काठमाडौं, ५ जेष्ठ/ गृहमन्त्री रमेश लेखकले काठमाडौंको तीनकुनेमा चैत्र १५ गते भएको आगजनी तथा हिंसात्मक घटनालाई कुनै पनि धर्म वा आस्थासँग जोडेर व्याख्या गर्न नमिल्ने स्पष्ट पारेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै मन्त्री लेखकले घटनालाई “सरासर अपराध” भन्दै धर्म र आस्थाको नाममा उन्माद फैलाउनु संवैधानिक र कानूनी दुवै हिसाबले अस्वीकार्य हुने बताए।
“हिंसात्मक गतिविधि, चाहे त्यो जोसुकैबाट होस्, कानूनी दायरामा ल्याइनेछ। उक्त घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढाइएको छ,” मन्त्री लेखकले भने।
उनका अनुसार घटनास्थलमा राजतन्त्रको वकालत गर्नु संविधान विपरित कार्य हो। सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न सतर्कता अपनाइरहेको उनले जानकारी दिए।
गृहमन्त्री लेखकले उक्त घटनामा घाइते भएकाहरूको उपचार सरकारले निशुल्क गरिरहेको र हाल दुई जनाको उपचार जारी रहेको बताए। सांसद प्रेम सुवाल, निशा डाँगी र सोविता गौतमले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सरकारको स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।
सरकारले आयोजक पक्षलाई नै घटनाको जिम्मेवार मान्दै यस्ता घटना दोहोरिन नदिन कडा कदम चाल्ने चेतावनी पनि दिएको छ।
















