काठमाडौं/ हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा काठमाडौं महानगरपालिका–२४ स्थित जुद्धसालिकबाट एक व्यक्ति नगद २० लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२४ का ३६ वर्षीय सञ्जय बस्नेत रहेका छन्। उनलाई आइतबार दिउँसो करिब १ः४५ बजे विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो।
प्रहरी प्रवक्ता, डीएसपी अपिलराज बोहराका अनुसार बस्नेतको साथबाट स्रोत नखुलेको नगद २० लाख २९ हजार ६२० रुपैयाँ बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उक्त रकम हुण्डी कारोबारमा प्रयोग भइरहेको पुष्टि भएको र सोही आधारमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।
बस्नेत हाल काठमाडौं–३२ स्थित पेप्सीकोलामा बसोबास गर्दै आएका थिए। उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमै राखिएको छ।
प्रहरीले अवैध रुपमा हुने वित्तीय कारोबार नियन्त्रणमा कडाइ गर्न अनुगमनलाई थप सशक्त बनाइएको जनाएको छ।

















